युद्धले युक्रेनमा ५ खर्ब ६० अर्ब डलर बढीको क्षति, रुसद्वारा वार्ता अस्वीकार
हाम्रा कुरा
प्रकाशित २०७८ चैत १४ सोमबार
329
Shares
काठमाडौं । रुसले आक्रमण गरेपछि युक्रेनमा जारी युद्धमा अहिलेसम्म ५६४.९ अर्ब अर्थात् ५ खर्ब ६४ अर्ब ९० करोड अमेरिकी डलर बराबरको क्षति भएको युक्रेनले जनाएको छ ।
युक्रेनकी अर्थ मन्त्री युलिया स्भिरिडेन्कोले यो क्षति पूर्वाधारमा मात्रै भएको र आर्थिक वृद्धि एवं अन्य कारकहरू गुमाएको बताएकी छन् । यस्तै युद्धले ८ हजार किलोमिटर बराबरको सडक सञ्जाल र १ करोड वर्ग मिटर बराबर घर विनाश भएको उनले फेसबुक पोस्टमार्फत बताएकी छन् ।
उता रुसले अहिले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कि र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच वार्ता हुने कुनै सम्भावना नरहेको बताएको छ । रुसी विदेशमन्त्री सर्गेई लाभरोभले युक्रेन र रुस मुख्य मुद्दाहरूमा सहमतिको नजिक हुँदा छलफल हुनुपर्ने भन्दै अहिले वार्ताको कुनै सम्भावना नरहेको बताएका हुन् ।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्ध अन्त्य गर्न पुटिनसँग आमनेसामने वार्ता गर्न बारम्बार आह्वान गरेका छन्।
यस्तै क्रेमलिन (रुस)ले पुटिन सत्तामा रहन सक्दैन भन्ने अमेरिकी राष्ट्रपति जो बाइडेनको टिप्पणी चिन्ताजनक भएको बताएको छ ।
युरोपको कूटनीतिक भ्रमणको अन्त्यमा शनिवार वार्सामा भीडलाई सम्बोधन गर्दै बाइडेनले यस्तो टिप्पणी गरेका थिए। पछि ह्वाइट हाउसले यस्तो भन्न नखोजेको भन्दै स्पष्टीकरण दिएको थियो ।
यद्यपि, क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले पत्रकारहरूसँग बोल्दै डरलाग्दो टिप्पणी भएका कारण मस्कोले बाइडेनका पछिल्ला स्टेटमेन्टहरूलाई नजिकबाट पछ्याउने बताएका छन् ।