arrow

जबजविरुद्ध झलनाथ खनालको भर्चुअल सम्बोधन

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७८ भदौ ८ मंगलबार
jhalanath.jpg
फाइल तस्बिर

काठमाडौँ। नेकपा एमालेको वरिष्ठ नेता रहेका झलनाथ खनालले माधवकुमार नेपाललाई समर्थन गर्दै जनताको बहुदलीय जनवाद विरुद्ध अभिव्यक्ति दिएका छन्। मिर्गौला प्रत्यारोपण गर्न दिल्लीमा रहेका झलनाथ खनाल नेकपा एकीकृतको वरिष्ठ नेताका रूपमा फर्किने  मनसाय व्यक्त गर्दै चन्द्रागिरिमा रहेका नेपाल पक्षका नेताहरूलाई सम्बोधन गर्दै जबजको युग सकिएको घोषणा गरेका थिए।

चन्द्रागिरि रिसोर्टमा बसेको एकीकृत समाजवादीको केन्द्रीय समिति बैठकलाई दिल्लीबाट भर्चुअल सम्बोधन गर्दै नेता खनालले आफू सोमबार नेपाल फर्किने बताएका थिए। उनले एमाले विभाजनलाई क्रान्तिकारी व्रिद्रोहको संज्ञा दिँदै स्थायी कमिटीका सदस्यहरूले मध्यपन्थी अवसरवादको बाटो लिएर केपी ओलीलाई सघाएको आरोप लगाए।

नेकपा एमालेका पूर्व अध्यक्ष समेत रहेका खनालले मदन भण्डारीबाट प्रतिपादित जनताको बहुदलीय जनवादको युग सकिएको बताए। उनले जनवादी क्रान्ति सम्पन्न भएसँगै अबको कार्यभार समाजवाद रहेको दाबी गरेका थिए। जबजका सधैँ विरोधी रहेका खानलले एक पटक एमालेको निर्वाचित अध्यक्ष समेत भएका थिए। ‘कमरेडहरू, अब जबजको युग सिद्धियो, त्यसलाई कसैले अनुसरण गर्न सक्दैन, अब हाम्रो प्रस्ट कार्यक्रम समाजवादमा रूपान्तरणको कार्यक्रम हो। हामीले युग अनुसारको बोली बोल्नुपर्छ । युग अनुसारको कार्यक्रम बनाउनुपर्छ’, खनालले सम्बोधनको क्रममा भनेका थिए।

खनालले नेकपा एकीकृत समाजवादीको बारेमा बुझाउन मुख पत्र छाप्ने र केपी ओलीको खण्डनमा सिङ्गो पङ्क्ति उत्रिनुपर्ने बताए। उनले सर्वोच्च अदालतको असार २८ को फैसलालाई पुस्तिकाको रूपमा छपाएर देशभर वितरण गर्न समेत आग्रह गरे।

त्यसअघि नेता नेपालले सम्बोधन गरेर ओली दक्षिणपन्थी भएको आरोप लगाएका थिए। उनले एमालेभित्र आफूहरूलाई ढोका बन्द गरेको भन्दै नयाँ दल खोल्नुको कुनै विकल्प नभएको समेत बताएका थिए। ‘अहिले एउटा अध्यादेश आयो।

अध्यादेशमा पार्टी विभाजनका लागि मापदण्डहरू बनेपछि, केपी ओलीले एकलौटी पार्टी कब्जा गर्ने स्थिति आइसकेपछि, ढोका बन्द भइसकेपछि, त्यसमा पनि १४ जना सांसदहरूलाई कारबाही र निष्कासन गरेपछि त्यो (एमाले) पार्टीको ढोका हाम्रा लागि बन्द भयो ’, उनले भने।

त्यस्तै नेता नेपालले पार्टीको ढोका बन्द र निष्कासनपछि आफूहरूको सामु अरू कुनै विकल्प बाँकी रहेन। निष्कासित भरसकेपछि कि हामीले घुँडा टेकेर चुप लागेर बस्नुभन्दा अर्को अर्को क्रान्तिकारी पार्टी निर्माण गर्नुपर्ने अवस्था आएको पनि बताए।

‘नेपाली कम्युनिस्ट आन्दोलनको इतिहासमा विद्रोहीले नै सफलता हासिल गरेको विगतको इतिहास छ। दक्षिणपन्थीहरूको पराजय हुँदै गएको इतिहासलाई साक्षी राखेर नयाँ कदम चाल्ने काम गरेका छौँ र नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) बनाएका छौँ। यस्ता घटनाक्रमले केपी ओली इमानदार हुनुहुन्न भन्ने देखिएको छ’, उनले भनेका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ