arrow

उदयपुर कांग्रेस नेतृत्वमा ६ जनाको आकांक्षा:  कार्कीको नाममा सर्वसम्मतको प्रयास

logo
केदार कटुवाल
प्रकाशित २०७८ साउन ३ आइतबार
nepali-congress-Udayapur.jpg

उदयपुर । नेपाली काँग्रेसको आसन्न १४औं महाधिवेशनमा वडादेखि जिल्ला तहसम्म नेतृत्व हत्याउनका लागि दौडधुप बढेको छ । कार्यतालिकामा कुनै फेरबदल नआए वडा स्तरको साउन १२ गते अधिवेशन हुँदैछ । त्यसपछि पालिका, क्षेत्र र जिल्ला तहको अधिवेशन हुनेछ । यतिबेला क्षेत्र तथा प्रदेशस्तरमा भन्दा पनि जिल्लाको नेतृत्व लिन ७७ वटै जिल्लामा महाधिवेशनको माहोल तातेको छ ।

तर यता उदयपुरमा भने जिल्लाको नेतृत्व सर्बसम्मत बनाउन पहल शुरु भएको छ । गुट-उपगुटमा बिभाजित उदयपुर काँग्रेसलाई एक ढिक्का बनाउन तत्कालीन सभापति तथा संविधान सभाका सदस्य नारायण बहादुर कार्कीले पहल थालेका छन् । उनकै नाममा सर्वसम्मत हुने संभावना बढेको छ । जसका लागि कांग्रेसका केन्द्रीय सदस्य डा.नारायण खड्काले पनि पहल शुरु गरेका छन् ।

उनी आफैं पनि आफ्नै नेतृत्वमा काँग्रेस उदयपुरमा गुटरहित र सर्बसम्मत नेतृत्व चयन गराउने पहलमा जुटेका छन् । संस्थापन र संस्थापनइतर दुबै पक्षका अधिकांश नेता तथा कार्यकर्ताको रोजाइमा पनि कार्की पहिलो नम्बरमा छन् । उनलाई सहानुभूति र सम्मानजनक रुपमा जिल्ला सभापतिको जिम्मेवारी दिनुपर्ने आवाज उठेको छ ।

सबै आकांक्षीले आफू विजयी भएको अनुभुत हुनेगरी सर्बसम्मत जिल्ला नेतृत्व चयन गर्न कार्यकर्तास्तरबाट पनि दबाब बढेको छ । जसका लागि एम्बुसको निसानामा परेर खुट्टा गुमाएका कार्की रोजाइमा छन् ।

हुनत उदयपुरमा यस पटक पनि हालका सभापति विदुर बस्नेत, प्रदेश सभाषद तथा पूर्वसभापति हिमाल कार्की, निवर्तमान क्षेत्रीय सभापति बसन्त बस्नेत, कांग्रेस उदयपुरका प्रवक्ता मदन कटुवाल र सभाषद प्रमिला राईले पनि जिल्ला नेतृत्व सम्हाल्ने इच्छा देखाएका छन् । उनीहरुको दावी र आकांक्षा स्वभाविक मानिएको छ । तर उनीहरुलाई सन्तुष्ट पार्नेगरी कार्कीको नेतृत्वमा सर्वसम्मत जिल्ला सभापति चयन गर्न दबाब बढेको छ ।

कार्कीले उदयपुरको १०औं अधिवेशन र बिभाजित अवस्थाको कांग्रेस प्रजातान्त्रिक र एकिरण पश्चात जिल्ला सभापतिको नेतृत्व सम्हालिसकेका छन् । ५ हजार ४ सय नयाँसहित १० हजार २ सय २८ क्रियाशील सदस्य रहेको उदयपुरमा ८ वटा स्थानीन तहमा ७५ वडा रहेका छन् । यहाँबाट १ हजार ४ सय २९ क्षेत्रीय प्रतिनिधि चयन हुँदैछन् ।

नेता कार्की संघीय लोकतान्त्रिक गणतन्त्र पश्चातको संघीय प्रतिनिधि सभा २०७४ को निर्वाचनमा उदयपुर-२ बाट उम्मेदवार बनेका थिए । त्यस क्रममा निर्वाचन प्रचार प्रसारका क्रममा मंसिर १३  गते नेपालटारको चुनावी सभालाई सम्बोधन गर्न कटारीबाट आउँदै गर्दा दनुवार बेसीमा चुनाव वहिष्कार गरेको समूहले थापेको एम्बुसको निसानामा परेर खुट्टा गुमाएका थिए । कार्कीसँगै रहेकी नेबिसंघ नेतृ मिरा कटुवालको पनि खुट्टा गुमेको थियो ।

दुई बर्षको उपचारपछि गृह जिल्लामा रहेका कार्की बैशाकी र कृतिम खुट्टाका सहारामा सक्रिय राजनीतिमा छन् । शारीरिक अपाङ्गताको नियती भोगेका उनलाई सम्मानजनक रुपमा सभापतिको जिम्मेवारी दिनुपर्ने आवाज उठेको हो । पार्टीका विभिन्न कार्यक्रम तथा सभा समारोहमा पुगेर कार्यकर्ताको माझ काँग्रेसमा मजबुत एकताको आवश्यक्ता रहेको बताउँदै आएका उनले कांग्रेसलाई एकढिक्का बनाएर अघि बढाउनुपर्ने बताउँदै आएका छन् ।

उनले भने, काँग्रेसको एकता बिना जनताले न्याय नपाउने, न्याय, स्वाधीनता र लोकतन्त्रको लागि हाम्रो एकता अपरिहार्य रहेको छ’ उनले अघि भने, ‘आफू काँग्रेस भएकै कारण मृत्युको मुखबाट फर्किएको साथै सबै साथीहरूको सहानुभूति ,सद्भाव र सहयोगले बाच्न सफल भएकाले अब सर्वसम्मतले जिल्ला नेतृत्व चयन गर्न आग्रह गर्दछु ।’

खुट्टा गुमाए पनि हिम्मत र साहस नगुमाएको बताउँदै काँग्रेस र लोकतन्त्रलाई कुनै निरङ्कुस शक्तिले सिध्याउन नसक्ने भन्दै उनले भने,‘ हामी भित्रको गुट, उपगुट र एकताको अभावमा काँग्रेसलाई क्षति पुग्ने काम गर्नुहुँदैन् ।’ लोकतन्त्रको सुरक्षा नहुँदा लोकतन्त्रबादीको सुरक्षा नहुने भएकाले बिभाजित मानसिकताबाट माथि उठ्नु अहिलेको आवश्यकता भएको पनि उनले बताए ।

त्यस्तै यता प्रतिनिधि सभामा उदयपुरबाट निर्वाचित हुँदै आएका पूर्वमन्त्री समेत भइसकेको केन्द्रीय सदस्य डा.नारायण खड्काले सर्वसम्मत नेतृत्वका लागि आब्हान गरिसकेको नेविसंघ नेता लिला भट्टराई बताउँछन् । केन्द्रीय स्तरका नेताहरुले पनि कार्कीलाई उचित सम्मान र अवसर दिनुपर्ने बताउँदै आइरहेका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ