अब ‘नेपाली विशेषताको वैज्ञानिक समाजवादी कार्यक्रम’ आवश्यक छ: खनाल
हाम्रा कुरा
प्रकाशित २०८३ असार १५ सोमबार
218
Shares
काठमाडौँ । नेपालका पूर्वप्रधानमन्त्री एवं एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले नेपाली कम्युनिष्ट आन्दोलनलाई समाजवादी क्रान्तिको नयाँ चरणअनुसार अघि बढाउन अब ‘नेपाली विशेषताको वैज्ञानिक समाजवादी कार्यक्रम’ आवश्यक रहेको बताएका छन्।
सोमबार कम्युनिष्ट आन्दोलनका संस्थापक नेता पुष्पलाल श्रेष्ठको १०२औँ जन्मजयन्तीका अवसरमा आयोजित पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले यस्तो धारणा राखेका हुन्। उनले पुराना जनवादी क्रान्तिकै कार्यक्रम बोकेर अबको समाजवादी क्रान्ति सम्पन्न गर्न नसकिने स्पष्ट पारे।
समय, समाजको प्रधान अन्तर्विरोध, क्रान्तिका मित्र तथा शत्रु र अन्तर्राष्ट्रिय परिस्थिति सबै परिवर्तन भइसकेकाले कम्युनिष्ट आन्दोलनले पनि नयाँ कार्यदिशा तय गर्नुपर्ने आवश्यकता उनले औँल्याए।
समारोहमा बोल्दै नेता खनालले भने, "एउटा पार्टीको रूपमा यसलाई विकसित नगरिकन हामीले समाजवादी क्रान्तिलाई पूरा गर्न कठिन छ। अबको अवस्थामा समाजवादी क्रान्तिको युग सुरु भएको छ। त्यसैले अबको क्रान्तिको कार्यक्रम के हो भन्ने बहस अगाडि सार्न अत्यावश्यक छ। नयाँ जनवादी क्रान्तिकै कालका कार्यक्रमहरू लिएर अबको क्रान्तिलाई पूरा गर्न बिल्कुल सकिँदैन। समय, क्रान्तिको स्वरूप र समाजको प्रधान अन्तर्विरोध बदलिएको छ। यस्तो परिप्रेक्ष्यमा अब हामीले नयाँ शिराबाट समाजवादी क्रान्ति र रूपान्तरणको वैज्ञानिक समाजवादको कार्यक्रमलाई अगाडि सार्नु आवश्यक भएको छ।"
आफूले लेखेको ‘वैज्ञानिक समाजवाद कि बहुदलीय जनवाद’ पुस्तकले यही वैचारिक बहसलाई प्रतिनिधित्व गरेको उल्लेख गर्दै उनले अब नेपालका कम्युनिष्ट शक्तिहरू एक ठाउँमा उभिएर वैज्ञानिक समाजवादको साझा कार्यक्रम घोषणा गर्नुपर्ने समय आएको बताए।
माक्र्सवादी द्वन्द्वात्मक भौतिकवादको सिद्धान्तअनुसार संसारमा कुनै पनि वस्तु वा संस्थाको उत्पत्ति र अन्त्य निश्चित हुने बताउँदै उनले यही नियम राजनीतिक दलहरूमा पनि लागू हुने तर्क गरे। आदिम साम्यवाद, दासप्रथा र सामन्ती व्यवस्थामा आधुनिक अर्थमा राजनीतिक दलको अस्तित्व नभएको चर्चा गर्दै उनले पुँजीवादको विकाससँगै पुँजीपति र श्रमिक वर्गका पार्टीहरूको जन्म भएको उल्लेख गरे।
खनालका अनुसार कम्युनिष्ट पार्टीका तीन ऐतिहासिक जिम्मेवारी हुन्छन्— पहिलो जनवादी क्रान्ति सम्पन्न गर्ने, दोस्रो समाजवादी क्रान्ति सम्पन्न गर्ने र तेस्रो समाजवाद निर्माण गर्दै समाजलाई साम्यवादसम्म पुर्याउने। यी जिम्मेवारी पूरा भएपछि कम्युनिष्ट पार्टीको ऐतिहासिक आवश्यकता पनि स्वतः समाप्त हुने उनको धारणा थियो। वर्तमान पुँजीवादी व्यवस्थाले देशमा व्याप्त भ्रष्टाचार, शोषण, अन्याय र अत्याचारजस्ता गम्भीर समस्याको समाधान गर्न कहिल्यै नसक्ने दाबी समेत उनले गरे।