आर्थिक गणनामा साढे १३ लाख व्यवसायिक एकाइको विवरण सङ्कलन
हाम्रा कुरा
प्रकाशित २०८३ असार ८ सोमबार
161
Shares
काठमाडौँ। राष्ट्रिय आर्थिक गणना-२०८२ अन्तर्गत हालसम्म १३ लाख ५१ हजार १६७ ओटा प्रतिष्ठान तथा व्यवसायिक एकाइको विवरण सङ्कलन गरिएको छ ।
राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार दोस्रो राष्ट्रिय आर्थिक गणनामा कागजी प्रश्नावली र विद्युतीय प्रणाली दुवै माध्यमबाट तथ्याङ्क सङ्कलन भइरहेको छ ।
हालसम्म १३ लाख ४४ हजार ५०० ओटा कागजी प्रश्नावली सङ्कलन गरिएको छ भने छ हजार ६६७ ओटा प्रश्नावली विद्युतीय प्रणालीमार्फत प्राप्त भएका छन् । यससँगै कुल सङ्कलित विवरण १३ लाख ५१ हजार १६७ पुगेको छ ।
यसअघि सम्पन्न पहिलो राष्ट्रिय आर्थिक गणना-२०७५ मा नौ लाख १७ हजार ४७० वटा कागजी प्रश्नावली र पाँच हजार ८८६ ओटा विद्युतीय प्रश्नावली गरी कुल नौ लाख २३ हजार ३५६ ओटा प्रतिष्ठानको विवरण सङ्कलन गरिएको थियो ।
तथ्यांकले दोस्रो आर्थिक गणनामा पहिलो गणनाको तुलनामा उल्लेख्य रूपमा बढी आर्थिक प्रतिष्ठान तथा व्यवसायिक गतिविधि समेटिएको देखाएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत रहेको राष्ट्रिय तथ्याङ्क कार्यालयले ‘अर्थतन्त्र मापनका लागि आर्थिक गणना’ भन्ने नारासहित २०८२ चैत १ गतेदेखि २०८३ असार मसान्तसम्म जिल्लास्तरमा आर्थिक गणना कार्यालय स्थापना गरी देशव्यापी रूपमा दोस्रो राष्ट्रिय आर्थिक गणना सञ्चालन गरिरहेको हो ।
कार्यालयका अनुसार नेपालको संविधान, तथ्याङ्क ऐन-२०७९, तथ्याङ्क विकासका लागि राष्ट्रिय रणनीति तथा राष्ट्रिय आर्थिक गणना सम्बन्धी प्रशासनिक एवं आर्थिक मापदण्ड-२०८२ लगायतका कानूनी तथा नीतिगत व्यवस्थाका आधारमा गणना कार्य भइरहेको छ ।
राष्ट्रिय आर्थिक गणनाबाट उद्योग, व्यापार, सेवा क्षेत्र, निजी तथा सार्वजनिक संघ-संस्था, तिनको संख्या, भौगोलिक वितरण, रोजगारी, उत्पादन तथा सेवा प्रवाहसम्बन्धी विस्तृत विवरण सङ्कलन गरिनेछ ।
यसबाट प्राप्त तथ्यांकले देशको कुल गार्हस्थ उत्पादनको अनुमानलाई थप विश्वसनीय बनाउन, राष्ट्रिय लेखाको आधार वर्ष परिवर्तन गर्न तथा सरकारका नीति, योजना र विकास लक्ष्यहरूको मूल्याङ्कनमा महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
त्यसैगरी, लगानी प्रवर्द्धन, रोजगारी सिर्जना तथा अल्पकालीन र दीर्घकालीन आर्थिक योजना निर्माणका लागि आवश्यक आधारभूत तथ्यांक उपलब्ध गराउने विश्वास लिइएको छ ।
राष्ट्रिय आर्थिक गणना-२०८२ का लागि देशभर ३ हजार ९०७ जना गणक, ५२६ जना सुपरिवेक्षक, ५०४ जना जिल्ला स्तरीय व्यवस्थापन समूहका सदस्य तथा ५३ जना केन्द्र स्तरीय व्यवस्थापन समूहका सदस्य परिचालन गरिएको छ ।
गणना कार्यलाई सफल बनाउन विभिन्न मन्त्रालय, प्रदेश सरकार, जिल्ला प्रशासन कार्यालय तथा स्थानीय तहका निकायहरूको समन्वयमा काम भइरहेको छ ।
राष्ट्रिय तथ्याङ्क कार्यालयले आर्थिक गणनामा सही र यथार्थ विवरण उपलब्ध गराई अभियान सफल बनाउन उद्योगी, व्यवसायी, संघ-संस्था तथा सर्वसाधारणसँग सहयोगको अपील गरेको छ ।