arrow

काठमाडौँ महानगरको बजेटमा पूर्वाधारलाई ६१ प्रतिशत हिस्सा, कुल २५ अर्ब ८८ करोडको प्रस्ताव

असोज मसान्तभित्र कर बुझाउने करदातालाई १० प्रतिशत छुट

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार ५ शुक्रबार
sunita-dangol-05-03.jpg

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि २५ अर्ब ८८ करोड ३० लाख ५५ हजार रुपैयाँको बजेट प्रस्ताव गरेको छ।

नगर सभाको १९औँ अधिवेशनको तेस्रो बैठकमा कार्यवाहक प्रमुख सुनिता डंगोलले आर्थिक विधेयक र विनियोजन विधेयकसँगै उक्त बजेट प्रस्तुत गरेकी हुन्।

प्रस्तावित बजेटमध्ये २५ अर्ब १३ करोड ३० लाख ५५ हजार रुपैयाँ सञ्चित कोषमार्फत खर्च हुने र ७५ करोड रुपैयाँ बाह्य व्ययभार अन्तर्गत रहने जनाइएको छ।

महानगरले आगामी वर्षका लागि आन्तरिक आय, बैंक मौज्दात तथा संघीय–प्रदेश सरकारबाट प्राप्त हुने अनुदानमार्फत स्रोत व्यवस्थापन गर्ने लक्ष्य लिएको छ।

स्रोत संरचना

कुल बजेटमध्ये २० अर्ब १८ करोड ६३ लाख रुपैयाँ आन्तरिक स्रोतबाट जुटाइने अनुमान गरिएको छ। संघीय तथा प्रदेश सरकारबाट चार अर्ब ९३ करोड ६७ लाख रुपैयाँ अनुदान प्राप्त हुने तथा एक करोड रुपैयाँ जनसहभागिताबाट संकलन हुने उल्लेख छ।

क्षेत्रगत विनियोजन

क्षेत्रगत रूपमा पूर्वाधार विकासलाई सबैभन्दा बढी प्राथमिकता दिँदै १५ अर्ब ३१ करोड ६७ लाख रुपैयाँ विनियोजन गरिएको छ, जुन कुल बजेटको ६१ प्रतिशत हो।

सामाजिक विकासतर्फ दुई अर्ब ४२ करोड रुपैयाँ, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रमा दुई अर्ब १३ करोड रुपैयाँ, आर्थिक विकासमा ५४ करोड रुपैयाँ तथा प्रशासनिक र सञ्चालन खर्चका लागि चार अर्ब ७१ करोड रुपैयाँ विनियोजन गरिएको छ।

त्यस्तै, वातावरण व्यवस्थापनका लागि एक अर्ब २२ करोड रुपैयाँ, शिक्षा क्षेत्रमा एक अर्ब ७१ करोड रुपैयाँ, सम्पदा संरक्षणका लागि दुई अर्ब ५३ करोड रुपैयाँ, स्वास्थ्य सेवाका लागि ७० करोड रुपैयाँ, सूचना प्रविधिका लागि ४१ करोड रुपैयाँ तथा विपद् व्यवस्थापनका लागि ३६ करोड रुपैयाँ छुट्याइएको छ।

प्राथमिक कार्यक्रम

बजेटमा फोहरमैला व्यवस्थापन, विद्यालय शिक्षा सुधार, सुशासन प्रवर्द्धन, शहरी स्वास्थ्य सेवा विस्तार, एक वडा एक उद्यम कार्यक्रम, रोजगारी सिर्जना तथा प्रदूषण नियन्त्रणलाई प्राथमिकतामा राखिएको छ।

ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनका कार्यक्रमलाई समेत उल्लेख्य बजेट विनियोजन गरिएको छ।

युवालाई लक्षित स्वरोजगार कार्यक्रमका लागि १० करोड रुपैयाँ छुट्याइएको छ। ‘कमाउँदै पढ्दै’, ‘नवयुवा सहकार्य’ तथा जेन्जी आन्दोलनका शहीद र अमर प्रहरीको स्मारक निर्माणसम्बन्धी कार्यक्रम पनि समेटिएका छन्।

महानगर अस्पताल निर्माणका लागि चार करोड रुपैयाँ, सामूहिक आवास कार्यक्रमका लागि पाँच करोड रुपैयाँ, ज्येष्ठ नागरिक निमोनिया खोप कार्यक्रमका लागि एक करोड रुपैयाँ तथा क्यान्सरलगायत जटिल रोगको निदानका लागि विशेष कार्यक्रम सञ्चालन गरिने बजेटमा उल्लेख छ।

सेवा विस्तार र नवप्रवर्तन

घरमै नागरिकता तथा राष्ट्रिय परिचयपत्र सेवा, निःशुल्क एम्बुलेन्स सेवा, करदाताका लागि निःशुल्क स्वास्थ्य सेवा, भूमि व्यवस्थापन सेवा स्थानीय तहमै उपलब्ध गराउने तथा स्वनिगः विश्वविद्यालय स्थापनाको प्रारम्भिक प्रक्रिया अघि बढाउने योजना पनि समावेश गरिएको छ।

रात्रिकालीन सार्वजनिक यातायात सेवा, वाटर एटीएम, सार्वजनिक शौचालय निर्माण, पशु वधशाला निर्माण, अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल आयोजना तथा काठमाडौँलाई सांस्कृतिक सहरका रूपमा विकास गर्ने कार्यक्रमका लागि समेत बजेट विनियोजन गरिएको छ।

राजस्व नीति

राजस्व संकलनलाई प्रभावकारी बनाउन नयाँ करदाता पहिचान, स्थलमै पुगेर कर सहजीकरण तथा कर छुट र जरिवाना मिनाहा कार्यक्रम ल्याइएको छ।

असोज मसान्तभित्र कर बुझाउने करदातालाई १० प्रतिशत छुट दिने तथा बक्यौता कर चुक्ता गर्ने करदातालाई जरिवाना मिनाहा गर्ने प्रस्ताव गरिएको छ।

आवासीय प्रयोजनका लागि बहालमा दिइएका घरजग्गाको वार्षिक आम्दानी दुई लाख ४० हजार रुपैयाँभन्दा बढी भएमा लाग्ने बहाल कर १० प्रतिशतबाट घटाएर सात प्रतिशत कायम गर्ने प्रस्ताव पनि बजेटमा समावेश गरिएको छ।

काठमाडौँलाई स्वच्छ, सफा, हरियाली, सुरक्षित, सांस्कृतिक तथा जीवन्त सहरका रूपमा विकास गर्ने लक्ष्यसहित सबै पक्षको सहकार्य आवश्यक रहेको कार्यवाहक प्रमुख डंगोलले बताएकी छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ