योग केवल शारीरिक अभ्यास वा स्वास्थ्य सुधारको माध्यममात्र होइन [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८३ असार ७ आइतबार
145
Shares
काठमाडौँ। विश्वभर हरेक वर्ष जुन २१ तारिखका दिन अन्तर्राष्ट्रिय योग दिवस मनाइन्छ। योगको महत्वलाई विश्व समुदायसमक्ष पुर्याउने उद्देश्यले संयुक्त राष्ट्रसंघले यस दिवसलाई आधिकारिक रूपमा मान्यता दिएको हो।
सन् २०१४ मा संयुक्त राष्ट्रसंघको महासभामा अन्तर्राष्ट्रिय योग दिवस सम्बन्धी प्रस्ताव प्रस्तुत गरिएको थियो। उक्त प्रस्तावलाई सदस्य राष्ट्रहरूले सर्वसम्मत रूपमा समर्थन गरेपछि जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसका रूपमा घोषणा गरिएको थियो।
त्यसपछि सन् २०१५ देखि विश्वभर यो दिवस मनाउन थालिएको हो। यस अवसरमा योग अभ्यास, जनचेतनामूलक कार्यक्रम, प्रशिक्षण तथा विशेष समारोहहरू आयोजना गरिन्छन्।
योगाचार्य राजन शर्माले योगलाई केवल शारीरिक व्यायाम नभई मानव जीवनलाई दुःख, चिन्ता, भय, तनाव र मानसिक अशान्तिबाट मुक्त गराउने दिव्य ज्ञानका रूपमा व्याख्या गरेका छन्।
उनका अनुसार योगको विकास ऋषिमुनि तथा भगवान शिवको करुणाबाट मानव समाजलाई सही मार्गदर्शन दिनका लागि भएको हो। उनले योगलाई “मुक्ति विद्या” भन्दै यसले व्यक्तिलाई आत्मिक शान्ति, सन्तुलित जीवन र आफ्नो वास्तविक स्वरूप पहिचान गर्न सहयोग गर्ने बताए।
आचार्य शर्माले योगलाई केवल अभ्यास नभई जीवनदर्शन भएको उल्लेख गर्दै यसले मानवलाई नैतिकता, संस्कार र प्रकृतिसँग सामञ्जस्यपूर्ण जीवन जिउन सिकाउने बताए। उनका अनुसार योग, वेद र आयुर्वेदबीच गहिरो सम्बन्ध छ र यी सबैको अन्तिम लक्ष्य मानव चेतनाको उच्चतम अवस्था प्राप्त गर्नु हो।
उनले योगलाई रोगीका लागि उपचार पद्धति, योगीका लागि मुक्ति मार्ग र गृहस्थका लागि सुखी जीवनको आधारका रूपमा व्याख्या गर्दै यसलाई महासागरसँग तुलना गरेका छन्, जहाँ प्रत्येक व्यक्तिले आफ्नो आवश्यकता अनुसार लाभ लिन सक्छ।
योग र ध्यानबीचको सम्बन्ध स्पष्ट पार्दै उनले ध्यान योगकै अभिन्न अङ्ग भएको बताए। उनका अनुसार योग केवल आसन वा शारीरिक अभ्यास मात्र नभई यम, नियम, आसन, प्राणायाम, प्रत्याहार, धारणा, ध्यान र समाधिसम्मको समग्र साधना पद्धति हो।
उनले हिमालय क्षेत्रलाई योग र दर्शनको उद्गमभूमिका रूपमा उल्लेख गरे। साथै, नेपालले माघ ११ लाई राष्ट्रिय योग दिवसका रूपमा मनाउँदै आएको र ध्यान दिवसको विश्वव्यापी महत्व बढ्दै गएको पनि उनले बताए।
उनका अनुसार योगको अभ्यासले रिस, लोभ, मोह, चिन्ता र तनाव जस्ता नकारात्मक भावनाहरू कम गर्दै मानिसलाई सन्तुलित, स्वस्थ र सकारात्मक जीवनतर्फ अग्रसर गराउँछ।
उनले भने, ‘योग र ध्यानमा के भिन्नता छ भने ध्यान नै योगको एउटा अङ्ग हो । ध्यान अलग र योग अलग होइन । त्यसकारणले योगलाई ध्यान भन्नु नै गलत हो।’
उनले मानिसहरूले जीवनमा केही आधारभूत आसन, प्राणायाम र अनुशासित दिनचर्या अपनाउनुपर्ने सुझाव दिए । जिब्रो, मन र व्यवहारमा संयम राख्दै प्रकृतिसँग सामञ्जस्यपूर्ण जीवनशैली अपनाउनसके जीवन सहज, स्वस्थ र आनन्दमय बन्ने उनको विश्वास छ ।
मानिसले ‘जे प्राप्त छ त्यही पर्याप्त छ’ भन्ने सन्तोषको भाव विकास गर्न सके प्रतिस्पर्धा, ईष्र्या, जलन र असन्तुष्टि स्वतः कम हुँदै जाने उनले बताए ।
उनका अनुसार आधुनिक जीवनशैलीले मानिसलाई अत्यधिक भागदौड, तनाव र असन्तुलनतर्फ धकेलिरहेको अवस्थामा योगले आत्मसन्तुष्टि, मानसिक शान्ति र जीवनप्रतिको सकारात्मक दृष्टिकोण प्रदान गर्नसक्छ ।
योग केवल शरीरको अभ्यास नभई जीवनलाई सही ढंगले जिउने कला भएकाले यसको महत्व भविष्यमा अझ बढ्दै जाने उनको निष्कर्ष छ ।
योगको अभ्यास गर्ने व्यक्ति स्वार्थभन्दा माथि उठेर समाज, राष्ट्र र विश्वप्रति जिम्मेवार बन्ने भएकाले यसले समग्र मानव सभ्यतालाई सकारात्मक दिशातर्फ अघि बढाउन मद्दत गर्ने उनले बताए ।