सडकपेटीबाट बलपूर्वक हटाएपछि काठमाडौँमा दृष्टिविहीनहरूको आन्दोलन
वैकल्पिक रोजगारी वा २० हजार भत्ताको माग
हाम्रा कुरा
प्रकाशित २०८३ असार ८ सोमबार
165
Shares
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका नगर प्रहरीले सडकपेटी, मठमन्दिर र विभिन्न चोकहरूमा व्यवसाय गर्ने तथा कला प्रस्तुत गर्ने दृष्टिविहीनहरूमाथि बलपूर्वक धरपकट र दमन गरेपछि उनीहरू आन्दोलित भएका छन्। काठमाडौँ महानगरको यस्तो जबरजस्ती र विकल्पविहीन कदमविरुद्ध दृष्टिविहीनहरूले सोमबारदेखि काठमाडौँको माइतीघर मण्डलामा धर्ना तथा विरोध प्रदर्शन सुरु गरेका हुन्।
सडकपेटी केन्द्रित स्वरोजगारमूलक दृष्टिविहीन व्यवसायीहरूको समूहका संयोजक सुदीप ओलीको नेतृत्वमा भएको यस आन्दोलनमा उनीहरूले आफूहरूलाई बाँच्ने कुनै वैकल्पिक आधार नदिई महानगरले अमानवीय व्यवहार गरेको भन्दै कडा आक्रोश व्यक्त गरे।
धर्ना कार्यक्रममा बोल्दै संयोजक सुदीप ओलीले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) को सरकारले आफूहरूको गाँस, बास र कपासको ग्यारेन्टी नगरी सडकको सानातिना गरिखाने बाटो समेत बन्द गरिदिएको आरोप लगाए। पहिले सडकपेटी र मठमन्दिरका चोकहरूमा कसैले धुप बेचेर, कसैले वेट मेसिन राखेर त कसैले आफ्नो कला र गला देखाएर गीत गाई सहयोग जुटाएर जीवन धानिरहेको अवस्थामा महानगरका नगर प्रहरीहरू आएर दमन गर्ने, होल्डिङ सेन्टरमा लगेर दिनभर थुन्ने र साँझ परेपछि मात्र छोडिदिने गरेको उनी दुखेसो पोख्छन्।
नगर प्रहरीले दृष्टिविहीन महिलाहरूमाथि समेत हातपात गरेको भन्दै ओलीले कि त मर्यादित रूपमा गरिखान दिनुपर्ने, कि दृष्टिविहीनहरूको योग्यता र क्षमताका आधारमा रोजगारीको व्यवस्था गर्नुपर्ने, नत्र नपढेका र असक्षम दृष्टिविहीनहरूलाई बाँच्नका लागि मासिक २० हजार रुपैयाँका दरले बेरोजगार वा जीवननिर्वाह भत्ता उपलब्ध गराउनुपर्ने कडा माग राखे।
सडकपेटीमा आश्रित दृष्टिविहीनहरूले सरकार र महानगरपालिकाले आफूहरूको जीउज्यान र गाँसबासको वैकल्पिक व्यवस्था नगरेसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन्। उनीहरूले आफ्नो माग पूरा गराउन दबाब दिने उद्देश्यले दैनिक बिहान ९:०० बजेदेखि दिउँसो १२:०० बजेसम्म माइतीघर मण्डलामा धर्ना दिने कार्यतालिका सार्वजनिक गरेका छन्। धेरै दृष्टिविहीन साथीहरूको योग्यताअनुसारको लाइसेन्स र प्रमाणपत्र सिरानीमा थन्किएर बस्नुपरेको बाध्यतालाई अन्त्य गरी राज्यले अभिभावकत्व ग्रहण नगरेसम्म दैनिक ३ घण्टाको यो आन्दोलन नरोकिने उनीहरूको सामूहिक जिकिर छ।