नेपाल आफैँमा प्राकृतिक अस्पताल हो, आरोग्य गन्तव्य हो [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८३ असार ७ आइतबार
90
Shares
काठमाडौँ। विश्वभरका मानिसहरुमा तीव्र जीवनशैली र मानसिक तनाव बढ्दो छ । मानिसहरू अहिले भौतिक सुख-सुविधा मात्र खोजिरहेका छैनन्, बरु आफ्नो मन र आत्मालाई शान्ति दिने ‘आरोग्य’ (वेलनेस)को खोजीमा छन् । यसलाई प्राथमिकता दिदैँ नेपाल सरकारले नेपाललाई आरोग्य पर्यटनको अन्तर्राष्ट्रिय गन्तव्यका रूपमा उभ्याउने महत्त्वाकांक्षी योजना अघि सारेको छ ।
सरकारको पछिल्लो नीति तथा कार्यक्रममा आरोग्य पर्यटनले विशेष स्थान पाउनुले नेपालको पर्यटन उद्योगले अब नयाँ मोड लिन लागेको सङ्केत गरेको छ। सरकारले मुलुकलाई ‘आरोग्य पर्यटन’ को गन्तव्यका रुपमा अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्ने योजना समेत बनाएको छ ।
नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक सूर्य थपलियाका अनुसार आरोग्य पर्यटनलाई केवल स्पा, सेलुन वा केही दिनको योग शिविरमा मात्र सीमित बुझ्न नहुने बताउँछन् ।
उनका अनुसार आरोग्य केवल सेवा होइन, हाम्रो जीवनशैली हो । नेपालको माटो, संस्कृति, ऐतिहासिकता र यहाँको सदियौँ पुरानो जीवनशैलीको समग्र रूप हो ।
‘नेपालको पर्यटन अभियान घोषणा गर्दा ‘आरोग्य पर्यटन’ भन्ने कुरा निकै चर्चित भयो। जसलाई अङ्ग्रेजीमा ‘वेलनेस’ भनिन्छ। पूर्वीय दर्शनमा आरोग्यले ठूलो महत्त्व राख्छ। यो हाम्रो जीवनशैली, संस्कार, दर्शन र जिउने तरिका हो। यो हाम्रो जमिन, भूमि र ऐतिहासिकतासँग जोडिएको विषय हो,’ उनले थप भने, ‘यसलाई प्रकृतिसँगको हाम्रो सामीप्यता, सालीनता र नेपालीहरूको संस्कार हो । यसलाई अब पर्यटनको एउटा प्रमुख आकर्षण बनाउनुपर्छ भन्ने बृहत् अभियान हो।’
१० वर्षे रणनीतिक योजना र कार्यदिशा
नेपालले १० वर्षे रणनीतिक योजनामार्फत आरोग्य पर्यटनलाई संस्थागत गर्न खोजेको छ । यो योजना केवल कागजी नभई व्यावहारिक र संरचनागत हुनेछ। थपलियाका अनुसार अबका दिनमा नेपालले ‘लाइफटाइम एक्सपिरिएन्स’ दिने गन्तव्यका रूपमा आफूलाई ब्रान्डिङ गर्नेछ ।
हाल चलिरहेका योग, ध्यान, र वेलनेस रिट्रिट सेन्टरहरूको सूचीकरण र स्तरीकरण सरकारको प्राथमिकतामा छ । सेवा प्रदायकका लागि स्पष्ट मापदण्ड बनाई सेवाको गुणस्तरमा एकरूपता ल्याउने योजना छ ।
आरोग्य पर्यटनको सफलताका लागि सरकार र निजी क्षेत्रको सहकार्य अपरिहार्य छ। पर्यटन बोर्डले विदेशी बजारमा यसको बजारीकरण गर्नेछ भने निजी क्षेत्रले व्यवस्थापनको जिम्मा लिनेछ। १० वर्षको अवधिमा नेपालले विश्वका उच्च खर्च गर्ने पर्यटकहरूलाई नेपालमा भित्र्याउने लक्ष्य राखेको छ ।
थपलियाका अनुसार अहिलेकै अवस्थामा नेपालमा आउने पर्यटकहरूमध्ये करिब ४० देखि ५० प्रतिशत कुनै न कुनै रूपमा आरोग्य पर्यटन (जस्तै ट्रेकिङ, प्रकृति र ध्यान) मा रमाउँछन्। अब यसलाई थप व्यवस्थित रूपमा लैजाँदा नेपालले आर्थिक रूपमा पनि ठूलो लाभ लिन सक्छ ।
नेपालको भूगोलले आरोग्य पर्यटनका लागि तीन तहमा फाइदा पुर्याउने वरिष्ठ प्रबन्धक थपलियाको भनाइ छ। थपलियाले भने, ‘हामीले भौगोलिक रूपमा हेर्दा तराई, मध्य पहाड र उच्च हिमाली क्षेत्र-तीनै तहमा यसको सम्भावना देख्छौँ। सुदूरपश्चिम, कर्णाली, दार्चुलादेखि कञ्चनजंघासम्मका हाम्रा गन्तव्यहरूलाई वेलनेस सेन्टरको रूपमा विकास गर्न सकिन्छ। विशेषगरी मध्य पहाड र उच्च हिमाली क्षेत्र पर्यटनका लागि अत्यन्त उपयुक्त छन्।’
पर्यटनमा निजी क्षेत्रको लगानी ठूलो छ । सरकारले पूर्वाधार (सडक, हवाई उडान, सञ्चार) मा लगानी गर्ने र निजी क्षेत्रले गुणस्तरीय सेवा प्रदान गर्ने मोडलमा जोड दिइएको छ।
उनले भने, ‘पर्यटनमा निजी क्षेत्रको लगानी धेरै छ, अब उनीहरूले आफ्नो सेवालाई गुणस्तरीय बनाउनुपर्छ। भएका जनशक्ति, रिसोर्टहरू र रिट्रिट सेन्टरहरूलाई तालिम र क्षमता अभिवृद्धि गरी व्यवस्थित गर्ने काम पर्यटन बोर्डले गर्छ। विदेशमा जाने प्रमोसनल कार्यक्रमहरूमा नेपाललाई वेलनेस गन्तव्यको रूपमा चिनाउने नयाँ ट्यागलाइनसहित जानुपर्ने अवस्था छ।’
नेपालका अधिकांश गन्तव्य आरोग्यमैत्री
नेपालको पर्यटनलाई रि-प्याकेजिङ र रि-ब्रान्डिङ गर्नुपर्नेमा थपलियाले जोड दिए। उनका अनुसार लुम्बिनी आँफैमा एक ‘ग्लोबल वेलनेस सेन्टर’ हो । त्यसैगरी, गाउँगाउँमा रहेका होमस्टे र अर्गानिक जीवनशैली विदेशी पर्यटकका लागि हीलिङ (निको पार्ने) को माध्यम बन्न सक्छन् ।
उनले भने, ‘मान्छेहरू विपश्यना, ध्यान, ओशोका कार्यक्रमका लागि विदेशबाट नेपाल आउँछन्। अबको हाम्रो कार्यदिशा भनेको यी गतिविधिलाई पर्यटनसँग पुनःप्याकेजिङ गरेर नेपाललाई वेलनेस डेस्टिनेसनका रूपमा स्थापित गर्नु हो।’
नेपाल आउने अधिकांश पर्यटक प्रकृतिसँग नजिक हुन, मानसिक शान्ति प्राप्त गर्न तथा जीवनको फरक अनुभव लिन आउने भएकाले ट्रेकिङ, होमस्टे, राष्ट्रिय निकुञ्ज र हिमाली क्षेत्रका गतिविधिहरूलाई समेत वेलनेस पर्यटनको हिस्सा मान्न सकिने उनले बताए ।
उनले भने, ‘ट्रेकिङ आफैँमा एउटा वेलनेस गतिविधि हो। प्रकृतिको नजिक जाने, भीडभाडबाट टाढा रहने, मानसिक रूपमा पुनःऊर्जाशील हुने प्रक्रिया नै वेलनेस हो । त्यसैले नेपाल आउने धेरै पर्यटक कुनै न कुनै रूपमा वेलनेस पर्यटक नै हुन्।’
थपलियाले लुम्बिनी, जनकपुर, विभिन्न धार्मिक तथा आध्यात्मिक स्थल, हिमाली क्षेत्र र ग्रामीण पर्यटन गन्तव्यहरूलाई योग तथा ध्यान पर्यटनसँग जोडेर विश्व बजारमा प्रवर्द्धन गर्न सकिने बताए।
उनले नेपाललाई आगामी दशकभित्र विश्वस्तरीय आरोग्य पर्यटन गन्तव्यका रूपमा स्थापित गर्न सरकार, नेपाल पर्यटन बोर्ड र निजी क्षेत्रबीच प्रभावकारी सहकार्य आवश्यक रहेको बताए।
उनका अनुसार योग, ध्यान, आध्यात्मिकता र प्राकृतिक जीवनशैली नेपालको मौलिक सम्पत्ति भएकाले त्यसलाई पर्यटनको प्रमुख आधारका रूपमा विकास गर्नुपर्ने आवश्यकता छ।
सुदूरपश्चिम, कर्णाली, दार्चुलालगायत कम विकसित तर प्राकृतिक रूपमा समृद्ध क्षेत्रहरूलाई आरोग्य पर्यटनको नयाँ केन्द्रका रूपमा विकास गर्न सकिने उनको धारणा छ। त्यस्ता क्षेत्रमा रहेको प्राकृतिक जीवनशैली, जडीबुटी, जैविक खाद्य संस्कृति र शान्त वातावरणले वेलनेस पर्यटनका लागि थप अवसर सिर्जना गर्ने उनको विश्वास छ।
व्यस्त सहरको कोलाहलबाट टाढा, नेपालको हिमालको काखमा बसेर गरिने ध्यानले मानिसको जीवनमा आमूल परिवर्तन ल्याउने उनको दाबी छ।
‘अहिले नेपाल आउने पर्यटकलाई एउटै सन्देश दिन खोजेका छौँ, ‘इफ यू वान्ट टू स्लो डाउन इन योर लाइफ, कम टू नेपाल ।’ तपाईँको जीवनमा धेरै भागदौड छ भने अलिकति थामिनुहोस्, नेपाल आउनुहोस्। यहाँको हावा, पानी र प्रकृतिको काखमा औषधी छ । ८०० मिटरदेखि ८८४८ मिटर उचाइसम्मको नेपाल आफैंमा एउटा प्राकृतिक अस्पताल हो,’ उनले भने।
वेलनेस हब बनाउने लक्ष्य
आरोग्य पर्यटनको अवधारणालाई सफल बनाउन अब हरेक वर्ष पर्यटन बोर्डको योजनामा यसलाई समावेश गरिनेछ। ‘विपास्सना’ लगायतका ध्यान केन्द्रहरूमा विदेशीहरूको आकर्षण बढ्दो हुनुले पनि नेपालमा यसको बलियो आधार रहेको पुष्टि गर्छ ।
यद्यपि, १० वर्षे रणनीतिअन्तर्गत अब तथ्याङ्क सङ्कलन, सेवाको स्तरोन्नति र बजार विस्तारका लागि ठूलो मेहनत आवश्यक रहेको थपलियाको बुझाइ छ।
नेपालको पर्यटन क्षेत्रमा आएको यो नयाँ तरङ्गले निजी क्षेत्रका उद्यमीहरूलाई पनि उत्साहित बनाएको छ। सरकारले पूर्वाधार निर्माण गर्ने र निजी क्षेत्रले योग तथा ध्यानका उत्कृष्ट सेवा उपलब्ध गराउने मोडलले पर्यटनमा गुणात्मक परिवर्तन ल्याउने निश्चित छ।
थपलियाले भने, ‘आरोग्य पर्यटन एउटा मात्र गन्तव्य होइन, जीवनप्रति हेर्ने दृष्टिकोण हो। १० वर्षे योजना कार्यान्वयन भएसँगै नेपाल विश्वको लागि एउटा अद्वितीय वेलनेस हब बन्नेछ ।’
आरोग्य पर्यटन नेपालको लागि केवल एक आर्थिक अभियानमात्र नभई नेपालीपनलाई विश्वसामु चिनाउने एउटा सांस्कृतिक र आध्यात्मिक यात्रासमेत भएको थपलियाले प्रष्ट पारे ।
उनका अनुसार नेपालमा वेलनेस पर्यटनका धेरै गतिविधि पहिलेदेखि सञ्चालनमा रहे पनि अब राज्यको प्राथमिकतासँगै यसलाई संगठित, व्यवस्थित र अन्तर्राष्ट्रिय रूपमा प्रवर्द्धन गर्ने अवसर प्राप्त भएको छ ।
नेपाललाई आगामी दशकभित्र विश्वस्तरको आरोग्य पर्यटन गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्यसहित सरकार, पर्यटन बोर्ड र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको उनले बताए।