दृष्टिविहिनहरूको प्रदर्शन : सडकपेटीबाट हटाएपछि विकल्प र भत्ताको माग [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८३ असार ८ सोमबार
176
Shares
काठमाडौँ। सडकपेटीमा आश्रित दृष्टिविहिन व्यवसायीहरूलाई बलपूर्वक हटाउने र धरपकड गरिएको विरोधमा उनीहरूले आन्दोलन शुरू गरेका छन् ।
सोमबार काठमाडौँको माइतीघर मण्डलामा उनीहरूले वर्तमान सरकारले सडकपेटीमा बसेर जीविकोपार्जन गर्न नदिएको भन्दै धर्ना दिएका हुन् । नगर प्रहरीले पटक-पटक धरपकड गर्ने, होल्डिङ सेन्टरमा लगेर केही समय राख्ने र पछि छोड्ने गरेको आरोप उनीहरूको छ ।
सडकपेटी केन्द्रित स्वरोजगारमूलक दृष्टिविहिन व्यवसायीहरूको समूहका संयोजक सुदीप ओलीले विकल्प बिना सडकबाट हटाइएकाले आन्दोलन गर्न बाध्य भएको बताए।
उनले भने, ‘आज बालेन सरकारले हामीलाई बाँच्न दिएन । गाँस, बास, कपासको ग्यारेन्टी गरिदिएन । हामीले धुप बेच्ने, वेइङ मेसिन राख्ने, गीत गाउने र सहयोग लिएर जीविका चलाइरहेका थियौँ । तर नगर प्रहरीले दमन गर्ने, होल्डिङ सेन्टरमा लगेर थुन्ने काम भयो । त्यसैले हामी आन्दोलनमा आएका हौँ ।’
ओलीका अनुसार दृष्टिविहीनहरूले सरकारले या त वैकल्पिक रोजगारी दिनुपर्ने, या मासिक २० हजार रुपैयाँ बेरोजगार भत्ता उपलब्ध गराउनुपर्ने माग गरेका छन् ।
साथै, योग्यताका आधारमा रोजगारीको व्यवस्था गर्नुपर्ने पनि उनीहरूको माग छ ।
उनले राज्यले कुनै न कुनै रूपमा जीविकोपार्जनको सुनिश्चितता गर्नुपर्नेमा जोड दिँदै भने, ‘कतिपय साथीहरू पढेका छन्, कतिपय अपाङ्गता अनुसार काम गर्न सक्छन् । त्यसअनुसार रोजगारी दिनुपर्छ । नपढेकाहरूलाई भत्ता वा उपयुक्त कामको व्यवस्था हुनुपर्छ ।’
दृष्टिविहीनहरूले सरकारले वैकल्पिक व्यवस्था नगरेसम्म बिहान ९ बजेदेखि १२ बजेसम्म दैनिक धर्ना जारी राख्ने चेतावनी दिएका छन् ।