पुराना दलहरू पतनको मार्गमा : बाबुराम भट्टराई [भिडियो]
रास्वपा ‘राइट अफ सेन्टर’, देशमा ‘लेफ्ट अफ सेन्टर’ शक्ति पनि चाहिन्छ
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ ३० शनिबार
232
Shares
काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पुराना राजनीतिक दलहरू आफ्नै कमजोरी र असफलताका कारण पतनको मार्गमा रहेको दाबी गरेका छन्। उनले अब देशमा नयाँ वैकल्पिक शक्तिहरूको उदय अनिवार्य भइसकेको बताए।
शनिबार काठमाडौँमा आयोजित नयाँ शक्ति स्थापना दिवसको अवसरमा बोल्दै डा. भट्टराईले अर्थशास्त्रको ‘रचनात्मक ध्वंस’ को नियम झैँ नयाँ पद्धतिको विकास र निर्माणका लागि पुराना शक्तिहरूको अन्त्य आवश्यक रहेको उल्लेख गरे।
भट्टराईले नयाँ शक्तिका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विज्ञान, प्रविधि र मध्यम वर्गको भावनालाई बुझेर अगाडि बढेकाले छोटो समयमै सफलता पाएको बताए। यद्यपि, रास्वपाको वैचारिक धार ‘राइट अफ सेन्टर’ (दक्षिणपन्थी ढल्काइ) रहेको उनको टिप्पणी थियो।
देशको बहुसङ्ख्यक जनता अझै पनि गरिबीको रेखामुनि रहेको र ७० देखि ८० प्रतिशत नागरिक गुणस्तरीय शिक्षा, स्वास्थ्य र सम्मानजनक रोजगारीबाट वञ्चित रहेको तथ्यलाई नजरअन्दाज गर्न नहुनेमा उनले जोड दिए। नेपालको जातीय, क्षेत्रीय विविधता र आर्थिक पछौटेपनलाई केवल बजारको भरमा मात्र छाड्न नसकिने भन्दै उनले यसका लागि राज्यको सक्रिय भूमिका भएको विकासमुखी बाटो आवश्यक रहेको औँल्याए।
पूर्वप्रधानमन्त्री भट्टराईले पुराना शक्तिहरूको विकल्पमा देशमा कम्तीमा दुईवटा प्रमुख वैकल्पिक शक्तिहरू हुनुपर्ने धारणा राखे। उनका अनुसार एउटा रास्वपा जस्तो ‘राइट अफ सेन्टर’ र अर्को प्रगतिशील विचार बोक्ने ‘लेफ्ट अफ सेन्टर’ (मध्य–वामपन्थी) शक्तिबिच देशमा प्रतिस्पर्धा हुनुपर्छ। यी दुई धारले राष्ट्रियताको साझा मुद्दामा सहकार्य र नीतिगत विषयमा स्वस्थ प्रतिस्पर्धा गर्दा मात्रै देशको वास्तविक हित हुने उनको तर्क छ।
डा. बाबुराम भट्टराईले भने, ‘रास्वपालाई अहिले शङ्काको सुविधा दिनुपर्छ। भर्खरै उदय भएको शक्तिलाई सुरुमै आलोचना गर्नुभन्दा पनि काम गर्ने अवसर दिनुपर्छ। पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्। बहुमत या दुई–तिहाइको सरकारले मात्रै देशमा निकास दिँदैन भन्ने उदाहरण विगतका सरकारहरूले पुष्टि गरिसकेका छन्।’
आफ्नो विगतको राजनीतिक यात्राको समीक्षा गर्दै भट्टराईले आत्मआलोचना समेत गरे। आफ्नो राजनीतिक अभियानका क्रममा ‘नयाँ शक्ति’ को ब्रान्ड स्थापित भइसकेपछि आफूहरूले पटक–पटक पार्टीको नाम परिवर्तन गर्दा जनतामा अन्योल उत्पन्न भएको र त्यो आफ्नो पक्षको ठुलो कमजोरी रहेको उनले स्वीकार गरे। पुराना दलहरूको विकल्प खोजिरहेका नागरिकका लागि अब नयाँ र स्पष्ट वैचारिक धार भएका शक्तिहरू नै देशको भविष्य भएको उनको दाबी छ।