निजी क्षेत्रका व्यवसायीलाई सम्पत्ति विवरण भराउन लगाइएकोप्रति महासंघको आपत्ति [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ २५ सोमबार
329
Shares
काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जान श्रेष्ठले सरकारी निकाय तथा बोर्डहरूमा प्रतिनिधित्व गर्ने निजी क्षेत्रका व्यवसायीलाई सम्पत्ति विवरण भर्न लगाइएकोप्रति आपत्ति जनाएका छन् ।
महासंघले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सरकारी निकाय र बोर्डहरूमा प्रतिनिधित्व गर्ने निजी क्षेत्रका करिब एक हजार व्यवसायीसहित करिब ५० हजारलाई सम्पत्ति विवरण भर्न लगाइनु बजारमा गलत सन्देश गएको बताए।
उनले बोर्डमा बस्ने निजी क्षेत्रका प्रतिनिधिहरूलाई यस्तो झन्झटिलो व्यवस्थाबाट मुक्त गरिनुपर्ने सुझाव दिए।
अध्यक्ष श्रेष्ठले स्टार्टअपका लागि बिना धितो कर्जाको व्यवस्था सकारात्मक भए पनि यसको परिभाषा, ब्याजदर र ऋणको मोडालिटीमा पुनरावलोकन आवश्यक रहेको बताए ।
साथै उनले ‘नागरिक एप’मा व्यवसाय आइकन थपेर दर्तादेखि बहिर्गमनसम्मका सम्पूर्ण प्रक्रिया एकीकृत गर्न सरकारलाई सुझाव दिए ।
उनले देशको कुल खर्च संरचनामा चालु खर्चको हिस्सा बढी र पुँजीगत खर्च कम हुनुले विकासभन्दा दैनिक सञ्चालनमा ध्यान केन्द्रित भएको देखिएको उल्लेख गरे ।
नीतिगत अस्थिरता र अन्तर–निकाय समन्वयको अभावलाई पुरानो समस्या भन्दै उनले यी सुधार नभए ७ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य हासिल कठिन हुने बताए ।