उद्योग वाणिज्य महासंघले जनायो सरकारको ‘मूल्य पारदर्शिता सप्ताह’मा ऐक्यबद्धता
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख २८ सोमबार
359
Shares
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घले सरकारद्वारा घोषणा गरिएको मूल्य पारदर्शिता सप्ताहलाई पूर्ण समर्थन गर्दै देशभरका उद्योगी व्यवसायीलाई अभियानमा सहभागी हुन आह्वान गरेको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले यही वैशाख २८ गतेदेखि आगामी जेठ ३ गतेसम्म देशव्यापी रूपमा ‘मूल्य पारदर्शिता सप्ताह’ मनाउने निर्णय गरेसँगै महासङ्घले ऐक्यबद्धता जनाएको हो ।
प्रेस विज्ञप्ति जारी गर्दै महासङ्घले बजारमा वस्तु तथा सेवाको मूल्यमा एकरूपता ल्याउन र स्वच्छ व्यावसायिक वातावरण निर्माण गर्न यो अभियान प्रभावकारी हुने विश्वास व्यक्त गरेको छ ।
महासङ्घले मन्त्रालयको परिपत्रअनुसार आफ्ना सदस्य उद्योग वाणिज्य सङ्घ, वस्तुगत सङ्घ र आबद्ध व्यवसायीहरूलाई सम्पूर्ण उद्योगी, पैठारीकर्ता, थोक तथा खुद्रा विक्रेताले आफूले बिक्री गर्ने वस्तु तथा सेवाको अद्यावधिक मूल्यसूची अनिवार्य र स्पष्ट देखिनेगरी राख्न आग्रहसमेत गरेको छ ।
महासङ्घले जिल्ला तथा नगर उद्योग वाणिज्य सङ्घहरूलाई आ-आफ्नो क्षेत्रका बजारमा मूल्यसूची राखिएरनराखिएको सुनिश्चित गर्न र सचेतनामूलक कार्यक्रमका सहभागिता जनाउँदै यस अभियानलाई सफल बनाउन देशभरका सम्पूर्ण उद्योगी–व्यवसायी मित्रहरूलाई सक्रियतापूर्वक सहभागी हुनसमेत अनुरोध गरेको छ ।