चालीस माइक्रोनभन्दा पातला प्लास्टिक झोला बिक्रीमा पूर्ण रोक
१९ प्लास्टिक उद्योग र पसलमा विभागको छापा: मापदण्डविपरीतका प्लास्टिकमाथि प्रतिबन्ध
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २५ शुक्रबार
640
Shares
काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले वातावरण प्रदूषण नियन्त्रण गर्ने उद्देश्यका साथ प्लास्टिक तथा प्लास्टिकजन्य वस्तुको बिक्री वितरणमा निगरानी बढाएको छ। विभागले पछिल्लो पटक उपत्यकाका विभिन्न १९ वटा प्लास्टिक उद्योग, आयातकर्ता र पसलहरूमा एकैसाथ अनुगमन गरी मापदण्डविपरीतका सामग्री जफत र निर्देशन जारी गरेको हो।
४० माइक्रोनभन्दा कमका प्लास्टिक प्रतिबन्ध अनुगमनका क्रममा विभागले ४० माइक्रोनभन्दा कम मोटाइका प्लास्टिक झोलाहरू स्वास्थ्य र वातावरणका लागि हानिकारक भएको भन्दै तिनको उत्पादन र बिक्री वितरण नगर्न कडा निर्देशन दिएको छ। विभागले निरुज प्लास्टिक उद्योग, एमएन प्लास्टिक उद्योग, नेसनल प्लास्टिक इन्डस्ट्रिज, कुँवर फर्निचर उद्योग, दीक्षा स्टोर, पशुपतिनाथ इन्टरप्राइजेज र युनिभर्सल ट्रेडरर्सलगायतका संस्थाहरूलाई सुधारात्मक निर्देशन दिएको छ।
कानुनी कारबाहीको चेतावनी उपभोक्ता संरक्षण ऐन, २०७५ र उपभोक्ता संरक्षण नियमावली, २०७६ को प्रावधान बमोजिम यो कदम चालिएको विभागले स्पष्ट पारेको छ। अनुगमन टोलीले मापदण्ड पालना नगर्ने पसल र उद्योगहरूलाई तत्काल सुधार गर्न सचेत गराएको छ भने निर्देशन पालना नगरेमा थप कडा कारबाही र जरिवाना गरिने चेतावनी दिएको छ। बढ्दो फोहोर र वातावरणीय चुनौतीलाई न्यूनीकरण गर्न सरकारले प्लास्टिकको प्रयोगमा कडाइ गर्ने नीति लिएको विभागको भनाइ छ।