arrow

तत्कालीन सरकारको अकर्मण्यताका कारण निर्यात व्यवसायीलाई अनुदान दिन सकेनौँ : मन्त्री सिन्हा [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २३ बुधबार
anil-kumar-sinha-23-09.jpg

काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री अनीलकुमार सिन्हाले चालु आर्थिक वर्षका लागि अघिल्लो सरकारले निर्यात अनुदान शीर्षकमा १० हजार मात्रै छुट्टाएको कारण वर्तमान सरकारले त्यस्तो अनुदान दिन सक्ने अवस्था नरहेको बताएका छन् ।

नेपाल निर्यात परिषद्को २८औँ वार्षिक साधारण सभा एवं १०औँ निर्यात दिवसका अवसरमा आयोजित कार्यक्रममा मन्त्री सिन्हाले विदेशी मुद्रा भित्र्याउन निर्यातले विशेष भूमिका खेले पनि तत्कालीन सरकारको अकर्मण्यताका कारण निर्यात व्यवसायीलाई अनुदान दिन आफूहरूले नसकिरहेको बताए ।

उनले जनताले भोट दिएर जिताएकाहरुले राम्रोसँग काम नगरिदिँदा यस्ता समस्या देखापरेकाले आगामी दिनमा सक्षम मान्छेलाई मात्रै जिताएर सांसद्मा पठाउन आग्रह गरे ।

उद्योगमन्त्री सिन्हाले भने, ‘निर्यातलाई दिँदै आएको नगद अनुदानका सम्बन्धमा पटकपटक प्रश्न उठेको छ । विडम्बना मैले उद्योगमन्त्रीका रुपमा सपथ गरेको भोलिपल्ट नै व्यवसायीलाई अब यस वर्षको निमित्त निर्यात छैन भनेर जानकारी दिनुपर्ने स्थिति आयो । जेठमा आएको बजेटमा निर्यात अनुदानमा आएको शिर्षकमा जम्मा १० हजार छुट्इएको रहेछ ।  यति धेरै दिनसम्म व्यवसायीहरूले पनि अध्ययन गरेका रहेनछन् । यो कुरा व्यवसायीलाई थाहै रहेनछ । बजेट हामीले बनाउने अवस्था छैन्, अहिले बजेट विनियोजन गर्ने  अधिकार यो सरकारलाई छैन । निर्यात अनुदान शीर्षकमा १० हजार रहेकाले हामीले बजेट दिन सकेनौँ । त्यसैले निर्यात अनुदान दिन सकेनौँ । जेठ २२ अघिको फर्छ्यौट नगरिएका अनुदानका रकमलाई हामीले यसलाई सहजीकरण गर्नुपर्छ भनेर अर्थमन्त्रीसँग छलफल भयो । प्रशासन त त्यही प्रशासन हो । हरेक हप्ता मैले आफैँ अपडेट लिइरहँदा कहिले राष्ट्र बैंकबाट के आएन भनेको छ कहिले के भनेको छ । मैले अहिले उनीहरूलाई छोटो अवधि दिएको छु । मैले कर्मचारीहरुलाई भनेको छु, बाँकी अनुदान दिने हो भने दिने भन्नुस् होइन भने दिन्न भन्नुस्, मेरो सरकारका कर्मचारी साथीहरूले दिन्न भनेर भनेका छन् भनेर तपाइँहरूको नाम लिएर बाहिर जान्छु । हामीलाई काम गर्न कर्मचारीबाट सहयोग कम छ । विगतमा भोट दिएर हामीले पठाएको नेतृत्व वर्गले तयार गर्नुभएको प्रशासन त्यसको धङ्धङी आज पनि देखिएको छ । तथापि केही न केही सुधार ल्याउनैपर्नेछ । पुरानो निर्यातको अनुदानलाई फेरि व्यवस्थित गर्नेतर्फ हामी लागिरहेका छौँ ।’ 

मन्त्री सिन्हाले  नयाँ निर्यात प्रोत्साहन कार्यक्रमका लागि कार्यविधि तयार गर्न लागिएको र कार्यविधि निर्माणको काम अन्तिम चरणमा पुगेको समेत बताए ।

उनले मेक इन नेपाल, मेड इन नेपालजस्ता कार्यक्रमलाई सरकारले सहयोग गर्ने प्रतिवद्धतासमेत जाहेर गरे ।

सिन्हाकाअनुसार गुणस्तर परीक्षणका लागि प्रयोगशालाको स्तरोन्नति गर्ने काम भइरहेको छ ।

गुणस्तर विभाग जलेका कारणले शून्यबाट काम शुरू गर्नुपर्ने अवस्थाले गर्दा पनि केही चुनौती थपिएको सिन्हाले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ