काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घ एफएनसीसीआईको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतपरिणाम सार्वजनिक हुन थालेको छ । महासङ्घको ६०औं वार्षिक साधारणसभा मङ्गलबार सम्पन्न भएको थियो । नयाँ कार्यसमितिको निर्वाचनबाट जिल्ला नगर खुलातर्फको नतिजा सार्वजनिक भएको छ ।
जिल्ला नगर खुलातर्फ अर्जुनकुमार श्रेष्ठ, उज्ज्वलप्रसाद कसजु, केशवप्रसाद भण्डारी, कृष्ण कटुवाल, गोकुल श्रेष्ठ, छत्रधर आत्रेय, दासुराज पोखरेल, ताराबहादुर कार्की, दीपक नेपाल, प्रयास कार्की र मञ्जुकुमारी श्रेष्ठ कोजू निर्वाचित भएका छन् ।
त्यस्तै मोहनप्रसाद श्रेष्ठ, युवराज राजभण्डारी, राजु न्यौपाने, लक्ष्मणराज पौडेल, लालीमान बुढा, विष्णुप्रसाद थपलिया, शङ्कर गिरी, शिवप्रसाद मानन्धर निर्वाचित भएका छन् । यस्तै सन्तोष खड्का, सुदर्शन कार्की, हरिप्रसाद अर्याल विजयी भएका छन् । यस्तै महासङ्घको द्विराष्ट्रिय सदस्यमा मनोज पौडेल विजयी भएका छन् ।
अन्य पदको भने मतगणना जारी छ ।
महासङ्घको ७३ पदका लागि निर्वाचन भएको हो । जसमा एक सय ३७ उम्मेदवार छन् ।
महासङ्घ विधानअनुसार वर्तमान वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ स्वतः अध्यक्ष बन्नेछन् भने बाँकी चार उपाध्यक्षसहित ७३ पदका लागि निर्वाचन भएको हो । साधारण सभाबाट निर्वाचित कार्यसमितिले वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष चयन गर्नेछ ।
कमलादीस्थित प्रज्ञा भवनमा मंगलबार मतदान भएको थियो । हेमराज ढकाल र शिवप्रसाद घिमिरेको प्यानल मैदानमा रहेको छ ।
ढकाल वरिष्ठ उपाध्यक्षमा लडिरहँदा घिमिरे समूह वरिष्ठ उपाध्यक्षको घोषणा नगरी मैदानमा छ । कार्यसमिति चयनपछिमात्रै वरिष्ठ उपाध्यक्षको तयारी गर्ने जनाइएको छ ।
चुनावमा हालका अध्यक्ष चन्द्रप्रसाद ढकालले हेमराज समूहलाई र वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले शिव समूहलाई सघाएका छन् ।
अध्यक्षमा विधानअनुसार अञ्जनले स्वतः कुर्सी सम्हाल्नेछन् । श्रेष्ठ आफ्नो नेतृत्वमा आफ्नै टिम बनाएर महासंघ हाँक्न चाहन्छन् भने ढकाल महासंघलाई सबै पक्षलाई सन्तुलित बनाएर लैजाने चाहना राख्छन् ।