arrow

सय अर्ब डलरको अर्थतन्त्र निर्माण गर्न निजी क्षेत्रको साथ अपरिहार्य : अर्थमन्त्री वाग्ले

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख २१ सोमबार
swarnim-wagle.jpg

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपाललाई करिब सय अर्ब डलरको अर्थतन्त्रमा रूपान्तरण गर्ने लक्ष्य हासिल गर्न निजी क्षेत्रको सक्रिय साथ अपरिहार्य रहेको बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघको ६०औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै वाग्लेले सरकारले निजी क्षेत्रको संरक्षण र प्रवर्द्धनका लागि रणनीति तयार गर्ने निर्णय गरिसकेको जानकारी दिए ।

उनका अनुसार मन्त्रिपरिषद् बैठकले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्ताव पारित गर्दै निजी क्षेत्रमैत्री नीति निर्माणतर्फ महत्वपूर्ण कदम अघि बढाएको छ ।

‘हामीले झन्डै सय अर्ब डलरको अर्थतन्त्रको परिकल्पना गरेका छौँ। यो लक्ष्य हासिल गर्न निजी क्षेत्रको साथ बिना सम्भव छैन,’ वाग्लेले भने, ‘निर्वाचनको बेला होस् वा सरकारमा आएपछि, हाम्रो प्राथमिकतामा निजी क्षेत्र सधैँ अग्रस्थानमा छ ।’

उनले उक्त लक्ष्य हासिल गर्न करिब सात वर्षको समयावधि लाग्न सक्ने उल्लेख गर्दै आर्थिक विस्तार, रोजगारी सिर्जना र उत्पादन वृद्धि सबैमा निजी क्षेत्रको भूमिका निर्णायक हुने बताए ।

उनका अनुसार अर्थतन्त्रलाई फराकिलो बनाउने र नयाँ उचाइमा पुर्याउने जिम्मेवारीमा निजी क्षेत्र प्रमुख साँझेदार हो ।

अर्थमन्त्री वाग्लेले रोजगारी सिर्जनामा निजी क्षेत्रको योगदान उल्लेखनीय रहेको भन्दै सरकार र निजी क्षेत्रबीच सहकार्य अझ सुदृढ बनाउनुपर्ने आवश्यकता औंल्याए ।

‘रोजगारी सिर्जनादेखि लिएर उत्पादन वृद्धि र निर्यात विस्तारसम्म निजी क्षेत्रको भूमिका अत्यन्त महत्वपूर्ण छ,’ उनले भने ।

उनले निजी क्षेत्रलाई प्रोत्साहन गर्ने नीतिगत वातावरण निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्दै लगानीमैत्री वातावरण, सहज नियम प्रक्रिया र स्थायित्वमा सरकारले जोड दिने बताए । साथै, निजी क्षेत्रको विश्वास जित्दै आर्थिक सुधारका कार्यक्रम अघि बढाइने उनको भनाइ थियो ।

सरकारले ल्याउन लागेको ‘निजी क्षेत्रको संरक्षण र प्रवर्द्धन रणनीति’ मार्फत उद्योग, व्यापार र लगानीका क्षेत्रमा देखिएका समस्या समाधान गर्दै आर्थिक गतिविधि बढाउने लक्ष्य राखिएको छ । यसले दीर्घकालीन आर्थिक वृद्धि र स्थायित्वमा योगदान पुर्याउने विश्वास सरकारको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ