राप्रपा छोड्नुपर्दा दुःख लागेको छ तर मक्किएको र चर्किएको घरमा बस्न सकिएन
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ २१ बिहिबार
198
Shares
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट सामूहिक राजीनामा दिएका महामन्त्री डा. धवलशमशेर जबराले आफ्नो राजनीतिक जीवनमा बितेका चार वर्ष निकै पीडादायी भएको बताएका छन्। बिहीबार काठमाडौँमा आफू पक्षीय नेता तथा कार्यकर्ताहरूको विशेष भेलालाई सम्बोधन गर्दै उनले यस्तो दुखेसो पोखेका हुन्।
डा. जबराले राप्रपाको वर्तमान अवस्थालाई ‘मक्किएको र चर्किएको घर वा गाडी’ सँग तुलना गर्दै पुरानो संरचनाबाट अब अपेक्षित राजनीतिक परिवर्तन सम्भव नभएको निष्कर्षमा आफूहरू पुगेको स्पष्ट पारे। पार्टीलाई सही दिशा र एजेन्डा प्राप्तिको मार्गमा लैजान आफूले हरसम्भव प्रयास गरेको भए पनि पार्टी नेतृत्व नै त्यसमा बाधक बनेर उभिएको उनको आरोप थियो। विशेष गरी पाँच वर्ष पहिले आफूहरूले नै अङ्गालो मारेर राजेन्द्र लिङ्देनलाई पार्टी अध्यक्ष बनाएको स्मरण गर्दै डा. जबराले अन्ततः उनकै कार्यशैलीका कारण आज आफूहरू बाध्य भएर घर नै छोड्नुपर्ने अवस्थामा पुगेको बताए।
"पाँच वर्ष पहिले राजेन्द्र लिङ्देनलाई अध्यक्ष बनाएका थियौँ, तर दुःखका साथ आज हामीले घर नै छोड्नुपर्ने अवस्था आयो। यो सुखको दिन होइन," डा. जबराले सम्बोधनका क्रममा भने, "आफ्नो राजनीतिक यात्रामा जब आफूले बोकेको मूल्य र मान्यतालाई आफू बसेको घरबाट पार लगाउन सकिँदैन भन्ने ठानिसकेपछि हिम्मत गर्नुपर्छ र अर्को घर बनाउनुपर्छ। मक्किसकेको, चर्किसकेको त्यो गाडी होस् वा घर होस्, हिम्मत गरेर अर्को बनाउने जमर्को गर्नुपर्छ र त्यही जमर्कोमा आज हामी लागेका छौँ।"
विगत चार वर्ष आफ्नो राजनीतिक जीवनकै सबैभन्दा दुःखी समय रहेको उल्लेख गर्दै उनले राप्रपालाई सुधारेर राष्ट्रकै पहिलो पार्टी बनाउन खोजे पनि आफ्ना ती तमाम प्रयासहरूलाई पार्टीभित्र अगाडि बढ्न नदिइएको दाबी गरे। पार्टीभित्र आफूहरूले बोकेको विचार, मूल्य र एजेन्डालाई अगाडि बढाउन नसकिएकै कारण अब नयाँ राजनीतिक यात्रा सुरु गर्नुपर्ने निष्कर्षमा आफूहरू पुगेको उनले घोषणा गरे।
काठमाडौँमा आयोजित सोही भेलाबाट महामन्त्री डा. राणाको नेतृत्वमा पदाधिकारी र केन्द्रीय सदस्यसहित एक सय ८३ जना नेताहरूले राप्रपाबाट सामूहिक राजीनामाको घोषणा गरेका छन्। राणा पक्षीय नेताहरूको यो ठूलो सामूहिक बहिर्गमनले राप्रपाभित्र नयाँ राजनीतिक ध्रुवीकरण र धक्का सिर्जना गरेको छ।