सरकारले अस्वाभाविक रूपमा वितरणमुखी बजेट ल्यायो : पूर्वअर्थमन्त्री पुन
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ १५ शुक्रबार
891
Shares
काठमाडौँ । पूर्वअर्थमन्त्री वर्षमान पुनले सरकारले अस्वाभाविक रूपमा बजेटको आकार बढाएको टिप्पणी गरेका छन्। सिंहदरबारमा सञ्चारकर्मीहरूसँग प्रारम्भिक प्रतिक्रिया दिने क्रममा उनले यस्तो टिप्पणी गरेका हुन्। उनले आगामी आर्थिक वर्षको बजेट सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कै वाचाविपरीत आएको बताए।
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा सत्तारुढ दलले जनमत प्रभावित गर्ने उद्देश्यले बजेटमार्फत वितरणमुखी कार्यक्रम अघि सारेको आरोप पुनले लगाए। पुराना दलविरुद्धको जनमत सधैँ कायम नहुन सक्ने मनोविज्ञानका आधारमा सरकारले यस्तो बजेट ल्याएको उनको दाबी छ। मुलुकको दुई तिहाइ जनसङ्ख्या निर्भर रहेको कृषि क्षेत्रको सुधारका लागि बजेटमा उल्लेख्य कार्यक्रम नआएको भन्दै उनले असन्तुष्टि जनाए। साथै, युवाहरूलाई रोजगारी सिर्जना गर्ने प्रतिबद्धतासहित सत्तामा पुगेको दलले बजेटमा त्यसअनुसारका कार्यक्रम समावेश गर्न नसकेको आरोप उनले लगाए।
सञ्चारकर्मीहरूसँग कुरा गर्दै पूर्वअर्थमन्त्री पुनले भने, “बजेट अस्वभाविक रुपमा बढाएर ल्याइएको छ । यो वितरणमुखी देखियो । स्थानीय तहको निर्वाचन नजिँकिदै गर्दा सरकार र सत्तारुढ दलको मनोविज्ञान संधै पुराना दलविरुद्धको जनमत नहुनसक्छ । हामीले काम गर्नुपर्छ भनेर बजेट वितरण गरेको खण्डमा स्थानीय तहमा जनमत बनाउन सकिन्छ कि भन्ने मनोविज्ञानले काम गरेको देखिन्छ । अर्को कुरा मुलुकको दुई तिहाई जनसंख्या निर्भर रहेको कृषि क्षेत्रको सुधारको लागि उल्लेख्य कार्यक्रम आएन । युवाहरुलाई रोजगारी सिर्जनाको कुरा गरेर सत्तामा आएको पार्टीले कार्यक्रममा भने केही पनि ल्याउन सकेन । अहिले ऋण लिएर घिउ खानेजस्तो आएको छ । बजेट रास्वपाको वाचाविपरित छ ।”
उनले आगामी आर्थिक वर्षको बजेट सरकारको आफ्नै पूर्वघोषणा र प्रतिबद्धताविपरीत रहेको समेत टिप्पणी गरे।