आगामी निर्वाचनमा सबैभन्दा धेरै सिट जित्ने वर्षमानको दाबी
निर्वाचनमा १ सय ६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार उठाउने
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक २४ सोमबार
943
Shares
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुनले आगामी निर्वाचनमा आफ्नो पार्टीले सबैभन्दा धेरै सिट जित्ने दाबी गरेका छन्। निर्वाचन आयोगमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो दाबी गरेका हुन्।
नेता पुनले आफूहरू आगामी निर्वाचनमा १ सय ६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार उठाउने बताए। उनले आफ्नो पार्टी कम्युनिष्ट आन्दोलनका संस्थापक पुष्पलालको सपनालाई वैज्ञानिक समाजवादसँग जोड्ने र आजका युवा तथा जनतासँग जोडिने काममा लागेको बताए।
उनले भने, "जेन जी नवयुवाहरूसहितलाई लिएर यस पटक सबैभन्दा धेरै सिट लिनेगरी तयारी छ, आकांक्षा छ। हामी लार्जेस्ट पार्टी हुन्छौँ।" उनले आफूहरू एक भएर अघि बढ्ने प्रतिवद्धता पनि जनाए।
सञ्चारकर्मीहरूले नेता जनार्दन शर्मा बारे जिज्ञासा राख्दा नेता पुनले उनीहरू "छुटेको रेलमा विस्तारै घुम्तीका स्टेशनहरूमा चढ्ने" टिप्पणी गरे।
उनले भने, "जनार्दन र घनश्यामजीहरू हामीसँगै हुनुहुन्छ, कम्युनिष्ट आन्दोलनको एउटा घुम्तीमा हुनुहुन्छ। हामी मूल बाटो लाग्यौँ। उहाँहरू घुम्तीमा अल्मलिनुभएको जस्तो छ। रेल छुटेको हो, विभिन्न स्टेशनमा रोक्दै नयाँ प्यासेन्जर चढाउँदै जाने हो। अर्को स्टेशनमा आउनुहुन्छ भन्ने विश्वास छ।"