arrow

प्रतिनिधि सभा

लोकतन्त्र, गणतन्त्र र समावेशीतामा कुनै सम्झौता हुँदैन: वर्षमान पुन

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत १९ बिहिबार
barsaman-pun-19.jpg

काठमाडौँ ।  नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सांसद वर्षमान पुनले संविधान संशोधनका नाममा लोकतन्त्र, गणतन्त्र र समावेशीता जस्ता प्राप्त उपलब्धिहरूमा कुनै पनि किसिमको सम्झौता हुन नसक्ने स्पष्ट पारेका छन्। 

बिहीबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले देश र पार्टीलाई सही दिशामा अघि बढाउन जिम्मेवार ढङ्गले काम गर्न आग्रह गर्दै राष्ट्र निर्माण र राष्ट्रिय स्वाधीनताको पक्षमा आफ्नो पार्टी सरकारलाई सहयोग गर्न सधैँ तयार रहेको बताए। 

उनले विगतमा कम्युनिष्ट पार्टीहरूले पाएको भारी जनमतको सही सदुपयोग गर्न नसकेको यथार्थलाई स्वीकार गर्दै हालको संसद्मा ठूलो जनमत पाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई विगतका कमजोरीबाट पाठ सिकेर अघि बढ्न सुझाव दिए।

सम्बोधनका क्रममा पुनले २०६४ सालमा तत्कालीन माओवादी केन्द्रले पाएको उल्लेखनीय समर्थन र २०७४ सालको पार्टी एकता पछिको झन्डै दुई-तिहाइ जनमतलाई आफूहरूले जोगाउन नसकेको स्वीकारोक्ति प्रकट गरे। उनले नयाँ शक्तिहरूलाई त्यस्ता गल्ती नदोहोर्‍याउन सचेत गराउँदै सामाजिक न्याय र रूपान्तरणका लागि सरकारले चाल्ने सकारात्मक कदमहरूमा नेकपाको पूर्ण समर्थन रहने प्रतिबद्धता जनाए।

 यद्यपि, संविधान संशोधनको प्रक्रियामा जाँदा लोकतान्त्रिक र समावेशी ढाँचामा कुनै पनि आँच आउन नहुने उनको मुख्य अडान थियो। उनले राष्ट्रिय स्वाधीनता र सामाजिक न्यायका मुद्दामा प्रतिपक्षमा रहेर पनि रचनात्मक सहयोग पुर्‍याउने धारणा राख्दै नयाँ शक्तिहरूलाई जिम्मेवारीपूर्वक देश र जनताको सेवामा लाग्न आग्रह गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ