arrow

भर्चुअल दुनियाँ र सामाजिक सञ्जालको लहरबाट उदाएका शक्तिहरू छिट्टै पतन हुन्छन्: वर्षमान पुन

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ १६ शनिबार
barsaman-pun-16.jpg

काठमाडौँ नेपाली कम्युनिस्ट पार्टीका सांसद वर्षमान पुनले सामाजिक सञ्जाल र डिजिटल प्लेटफर्मको लहरबाट उदाएका राजनीतिक शक्तिहरू दिगो नहुने टिप्पणी गरेका छन्। शनिवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले विचार र राजनीतिक जगबिना आएका त्यस्ता शक्तिहरू छिट्टै ओरालो लाग्ने दाबी गरे।

पछिल्लो समय विकसित राजनीतिक प्रवृत्तिको विश्लेषण गर्दै नेता पुनले डिजिटल युगमा एजेन्डाहरू सामाजिक सञ्जालबाटै तय हुने र त्यहाँ कुनै निश्चित नेतृत्व नहुने बताए। मन मिल्ने (लाइक माइन्डेड) हरूको समूहले एजेन्डा सेट गर्ने यो नयाँ परिपाटी अत्यन्तै तीव्र, आक्रामक र कतिपय अवस्थामा ध्वंसात्मक तथा हिंसात्मक हुने गरेको उनको टिप्पणी छ।

नेता पुनले भर्चुअल दुनियाँको प्रभावका कारण निर्वाचनका क्रममा मतदान केन्द्र (बुथ) मा भौतिक रूपमा मान्छे नदेखिए पनि परिणाम भने अनपेक्षित आउने गरेको उल्लेख गरे। उनले आफ्ना कार्यकर्ता र सङ्गठनहरूलाई आजको प्रविधिमैत्री बनाउनु चुनौतीपूर्ण रहेको स्वीकार गर्दै भर्चुअल माध्यमबाट उठेका आन्दोलनहरू जति छिटो माथि पुग्छन्, उति नै छिटो पतन हुने तर्क गरे।

उनले उदाहरण दिँदै विगतको २०७९ को निर्वाचनमा मधेशमा सीके राउतहरूको पार्टी ठुलो भएर आए पनि अहिले कतै नदेखिएको चर्चा गरे। सम्बोधनका क्रममा उनले भने, “अहिले डिजिटल प्लेटफर्महरुमा, सामाजिक सञ्जालहरुमा, सञ्चार माध्यमहरुमा एजेण्डा बन्छ । त्यसपछि बराबरी सबै तेर्सो खालको मान्छेहरु, नेता कोहि नेतृत्व गर्ने हुँदैन, त्यही नै एजेण्डा बन्छ । लाइक माइन्डेडहरु, मन मिल्नेहरुको ग्रुप बन्छ र तिनीहरुले एउटा एजेण्डा सेट गर्छन्, एउटा तरिका यो भएको छ । दोस्रो कुरा, यो यति धेरै आक्रामक छ, तिब्र छ कि कतिखेर कहाँ विष्फोट हुन्छ भन्न सकिने अवस्था छैन, यस्तो छ दोस्रो कुरा । तेस्रो कुरा असाध्यै हिंसात्मक छ, असाध्यै ध्वंशात्मक छ । यो खालको विशेषता देखियो भनेको छ र नेपालमा ठ्याक्कै त्यही भएको छ । नेता कोहि छैन, डिजिटल उसमा छ, कहीँ देखिँदैन । अस्ति भोट हाल्दा पनि मान्छे कहीँ छैन, बुथमा मान्छे छैन, पछि भोट गन्दा त हजारको हजार छ यो बुथमा। मान्छे छैन तर कहाँ छरु भर्चुअल दुनियाँमा छ, अनलाइनमा छ, सामाजिक सञ्जालमा छ । त्यसैले हामीले यो सामाजिक सञ्जालमा हाम्रा संगठनहरु यो चैँ आजको प्रविधि मैत्री कसरी बनाउने, एउटा हाम्रो चुनौती यो छ। दोस्रो कुरा हामीले साथीहरुलाई, जनतालाई, महिला दिदीबहिनीहरुलाई के सम्झाउनुपर्ने हो भने त्यसरी भर्चुअल दुनियाँबाट छिट्टै उठेको आन्दोलन तिब्र रुपमा उठ्यो, तिब्र रुपमै तल जान सक्छ ।”

सांसद पुनले नयाँ भनिएका दलका मन्त्रीहरू एक महिनाभित्रै पदमुक्त हुनुले उनीहरूको जग कमजोर रहेको पुष्टि गर्ने दाबी गरे। विगतमा काम र परीक्षा भएर नेता बन्ने गरेकोमा अहिले महिना दिनमै दुई-दुई जना मन्त्री हटाइनुले यो शक्ति कुनै विचार, राजनीति, आन्दोलन, त्याग वा बलिदानको जग खडा गरेर नआएको प्रमाणित गर्ने उनको ठहर छ।

विगतको पञ्चायतकालीन सङ्घर्ष, जनयुद्ध र जनआन्दोलनको समयमा भूमिगत रूपमा एक-एकवटा सङ्गठन जम्मा गरेर स्थापित भएका दलहरूको जस्तो ठोस संगठनात्मक आधार अहिलेका नयाँ शक्तिहरूसँग नभएकाले यो स्थायी नहुने उनले स्पष्ट पारे। स्थापित दलहरू अलिकति तरिका पुर्‍याएर क्रान्तिकारी ढङ्गले अघि बढ्दा यो भर्चुअल लहर स्थानीय चुनाव आउँदा नजाँदै पतन (कोल्याप्स) हुने र अन्ततः स्थापित दलहरूले नै देश र समाज सम्हाल्ने अवस्था आउने दाबी उनले गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ