बजेटमा रूपान्तरणकारी सोचको अभाव छ : पूर्व अर्थमन्त्री पुन [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ २६ मंगलबार
247
Shares
काठमाडौँ। पूर्वअर्थमन्त्री वर्षमान पुनले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट केही राम्रा शुरूआतसहित आएको भए पनि आम जनता र निजी क्षेत्रले अपेक्षा गरेजस्तो रूपान्तरणकारी हुन नसकेको बताएका छन्।
नेपाल उद्योग व्यापार महासंघले आयोजना गरेको बजेटसम्बन्धी छलफलमा बोल्दै पुनले बजेटको भाषा र प्रस्तुति सन्तुलित र आकर्षक भए पनि यसको गहिराइमा जाँदा ठोस परिणाम दिनेमा संशय रहेको बताए।
उनले आफू अर्थमन्त्री हुँदा अघि सारेको ‘आईटी दशक’ को अवधारणालाई वर्तमान बजेटले निरन्तरता दिएकोमा सकारात्मक प्रतिक्रिया जनाए।
पुनले सूचना तथा सञ्चार प्रविधि (आईसीटी) क्षेत्रलाई नेपालको प्रमुख सम्भावनायुक्त क्षेत्रका रूपमा चित्रण गर्दै यसैमार्फत विश्व बजारमा प्रतिस्पर्धा गर्न सकिने बताए।
उनका अनुसार १० वर्षमा १० लाख प्रत्यक्ष र १५ लाख अप्रत्यक्ष रोजगारी सिर्जना गर्ने तथा ३० खर्ब रुपैयाँ बराबरको सेवा निर्यात गर्ने लक्ष्य चुनौतीपूर्ण भए पनि सम्भव छ।
उनले भने, ‘यो बजेटले थुप्रै राम्रा काम र सकारात्मक व्यवस्था गरेको छ, तर प्रतिपक्षी दल, नागरिक समाज, निजी क्षेत्र र युवाहरूले अपेक्षा गरेजस्तो रूपान्तरणकारी बजेट आएको देखिँदैन।’
पुनले नेपालले छिमेकी दुई ठूला अर्थतन्त्रसँग प्रतिस्पर्धा गर्नुपर्ने भएकाले आईसीटी नै सबैभन्दा सम्भावनायुक्त क्षेत्र भएको बताए।
उनका अनुसार हाल केही निजी कम्पनीहरूले वार्षिक करिब एक अर्ब अमेरिकी डलर बराबरको सेवा निर्यात गर्दै हजारौँलाई रोजगारी दिइरहेका छन्, जसले यस क्षेत्रको सम्भावना पुष्टि गर्छ।
तर उनले यस क्षेत्रका लागि उच्च गतिको इन्टरनेट, नियमित विद्युत आपूर्ति र वर्कस्टेसन जस्ता आधारभूत पूर्वाधार अझै अपुग रहेको बताए।
पुनले आफूले अघि सारेको ‘गण्डकी त्रिभुज’ अवधारणालाई विस्तार गर्दै सरकारले ‘गण्डकी चतुर्भुज’ बनाएकोमा स्वागत गरे पनि बजेट विनियोजनमा कमजोरी रहेको टिप्पणी गरे।
उनले समग्रमा बजेट सुन्दा आकर्षक र सन्तुलित देखिए पनि कार्यान्वयन र स्रोत व्यवस्थापनको पक्ष कमजोर रहेको बताए।