सार्वजनिक यातायातमा प्रविधिको प्रयोग र व्यावसायिक अनुशासन अनिवार्य: सिटौला [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ ८ शुक्रबार
885
Shares
काठमाडौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष पुण्यप्रसाद सिटौलाले सार्वजनिक यातायात क्षेत्रको सुधारका लागि प्रविधिको प्रयोग र व्यावसायिक अनुशासन अनिवार्य भइसकेको बताएका छन् ।
सडक तथा सवारी लक्षित मनसुनजन्य विपद् न्यूनीकरण अभियान कार्यक्रममा बोल्दै अध्यक्ष सिटौलाले सार्वजनिक यातायातलाई आधुनिक, सुरक्षित र मर्यादित बनाउन अब पुरानो शैलीमा चल्न नसकिने स्पष्ट पारे ।
उनले सवारी साधनमा जीपीएस प्रणाली, अनलाइन टिकटिङ तथा क्यासलेस भुक्तानी प्रणाली तत्काल लागू गर्नुपर्नेमा जोड दिए ।
उनका अनुसार दुर्घटनाको वास्तविक विवरण पत्ता लगाउन, सवारी निगरानी गर्न र सडकमा हुने विवाद कम गर्न प्रविधिको प्रयोग आवश्यक छ ।
सिटौलाले सरकारले सवारी जाँचपास तथा रुट परमिट नवीकरण गर्दा जीपीएस प्रणालीलाई अनिवार्य गर्नुपर्ने माग गरे ।
सडकमा जथाभावी पार्किङ गर्ने र यात्रु चढाउने प्रवृत्तिले ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनाएको भन्दै उनले सबै सार्वजनिक सवारी तोकिएका बसपार्कबाट मात्रै सञ्चालन हुनुपर्ने बताए ।
उनले नयाँ बसपार्क सहित पोखरा, इटहरी, बुटवल र धनगढीजस्ता सहरमा निर्माण भएका बसपार्क पूर्ण रूपमा प्रयोगमा ल्याउनुपर्ने आवश्यकता औंल्याए ।
राजमार्ग आसपासका होटलहरूले यात्रुलाई अस्वस्थकर खाना खुवाउने र चर्को मूल्य असुल्ने गरेको भन्दै सिटौलाले नियमित अनुगमन गर्न सरकारसँग माग गरे ।
चालक तथा सहचालकलाई होटलको कमिसनभन्दा यात्रुको स्वास्थ्य र सुविधालाई प्राथमिकता दिन पनि उनले आग्रह गरे ।
“करोडौँका गाडी किन्ने तर सुरक्षा र पारदर्शिताका लागि जीपीएस राख्न कञ्जुस्याइँ गर्ने प्रवृत्ति अन्त्य हुनुपर्छ,” उनले भने, “रातभर तास खेल्ने वा मापसे गरेर बिहानै यात्रु बोकेर हिँड्ने चालकका कारण दुर्घटना बढेका छन् । यस्ता चालकलाई कारबाहीका लागि सिफारिस गरिनेछ ।”
सिटौलाले मादक पदार्थ सेवन (मापसे) वा लागुपदार्थ सेवन (लापसे) गरेर सवारी चलाउने चालकलाई महासंघले कुनै संरक्षण नगर्ने स्पष्ट पारे ।
साथै नक्कली पार्टपुर्जा र कमजोर मर्मत सेवाका कारण पनि दुर्घटना बढिरहेको भन्दै उनले वर्कसपको मापदण्ड निर्धारण र सीमा नाकामा गुणस्तर परीक्षण कडाइ गर्न सरकारसँग माग गरे ।
यातायात मजदुरहरूको सामाजिक सुरक्षा र जीवनस्तर सुधारका लागि विभिन्न मजदुर संगठनसँग सहकार्य गर्दै सरकारसँग संवाद भइरहेको जानकारी दिँदै उनले मनसुनको समयमा मौसमविद्को सूचना पालना गरेर सावधानीपूर्वक सवारी सञ्चालन गर्न सम्पूर्ण यातायातकर्मीलाई आग्रह गरे ।