वैदेशिक रोजगारीमा ठगीविरुद्ध सरकारको ‘जिरो टलरेन्स’ नीति : मन्त्री यादव [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ ६ बुधबार
411
Shares
काठमाडौँ । युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले वैदेशिक रोजगारीका नाममा हुने ठगी, शोषण र अनियमितताप्रति सरकार ‘जिरो टलरेन्स’ नीतिमा रहेको बताएका छन् ।
बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै मन्त्री यादवले वैदेशिक रोजगारीसँग सम्बन्धित विगतका करिब ४० हजारभन्दा बढी फछ्र्योट नभएका उजुरीलाई वर्गीकरण गरी समयसीमा तोकेर समाधान गर्ने नीति लिइएको जानकारी दिए ।
उनले संसदमा माननीय सदस्यहरूले उठाउँदै आएको र मन्त्रालय स्वयं पनि गम्भीर बनेको विषय वैदेशिक रोजगारीका नाममा हुने ठगी, शोषण र अनियमितता रहेको बताए ।
ठगी नियन्त्रणका लागि विगत, वर्तमान र भविष्यका चरणलाई छुट्टाछुट्टै रूपमा वर्गीकरण गरेर काम अघि बढाइएको उनको भनाइ छ ।
मन्त्री यादवका अनुसार आगामी साउन महिनादेखि वैदेशिक रोजगारसम्बन्धी मुद्दा तथा अनुसन्धानका काम सफ्टवेयर प्रणालीमार्फत सञ्चालन गर्ने तयारी भइरहेको छ ।
दैनिक ठूलो संख्यामा उजुरी तथा ठगीसम्बन्धी निवेदन आउने गरेको उल्लेख गर्दै उनले ती गुनासा तत्काल सम्बोधन र फछ्र्योट गर्न ‘डेडिकेटेड कमान्ड सेन्टर’ स्थापना गरिएको बताए ।
साथै, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मा श्रमिक सहजीकरणका लागि ‘श्रम हेल्प डेस्क’ स्थापना गरेर सेवा दिइरहेको जानकारी पनि उनले दिए ।
‘आगामी दिनमा ठगी नियन्त्रण गर्दै वैदेशिक रोजगारीलाई पारदर्शी र न्यायोचित बनाउन समग्र व्यवस्थापन प्रणालीलाई पूर्णरूपमा डिजिटलाइज गर्ने हाम्रो नीति छ,’ मन्त्री यादवले भने ।