arrow

निर्माण सामग्रीको मूल्यवृद्धि समाधान गर्ने सरकारको तयारी, व्यवसायीलाई काममा फर्किन आग्रह [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ ४ सोमबार
rabindra-bohora-sadak-04-03.jpg

काठमाडौँ । सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक रवीन्द्र बोहोराले निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धि सम्बोधन गर्न सरकारले खरिद ऐन तथा नियमावलीअन्तर्गत समाधानको प्रक्रिया अघि बढाएको बताएका छन्।

काम रोकेर ज्ञापनपत्र बुझाउन पुगेका निर्माण व्यवसायीहरूलाई उनले ढुक्क भएर काममा फर्किन आग्रह गर्दै समस्या समाधानका लागि आवश्यक गृहकार्य अन्तिम चरणमा पुगेको जानकारी दिए।

बोहोराका अनुसार मन्त्रालयले विकास निर्माणसँग सम्बन्धित विभागका महानिर्देशकहरूलाई समस्या समाधानका लागि सुझावसहितको प्रतिवेदन तयार गर्न जिम्मेवारी दिएको थियो।

विभिन्न मोडेलमा अध्ययनपछि खरिद ऐन र नियमावलीभित्र रहेर मूल्यवृद्धिको समस्या सम्बोधन गर्ने प्रस्ताव मन्त्रालयमा बुझाइसकिएको उनले बताए।

उनले उक्त प्रतिवेदन अहिले मन्त्रालयमा विचाराधीन रहेको र प्रधानमन्त्री कार्यालयमा छलफलपछि कानून मन्त्रालयमार्फत प्रस्ताव अघि बढाइने जानकारी दिए।

कोभिड महामारीका बेला तथा सुरुङमार्ग निर्माणका क्रममा पनि सरकारले बाधा-अड्काउ फुकाएर समाधान निकालेको उदाहरण दिँदै उनले अहिले पनि सोही प्रक्रियाबाट समस्या समाधान गर्न सकिने बताए।

बोहोराले यो हप्ताभित्रै निर्णय प्रक्रियाले गति लिने विश्वास व्यक्त गर्दै मूल्य समायोजनपछि म्याद थपका विषय पनि सहज हुने र निर्माण व्यवसायीहरू पुनः काममा फर्किने अपेक्षा सरकारको रहेको बताए।

उनका अनुसार बिटुमिन प्रयोग हुने सडक आयोजनामा बढी असर देखिए पनि अन्य क्षेत्रमा डन्डी र सिमेन्टको मूल्य अत्यधिक नबढेकाले सबै निर्माण कार्य पूर्ण रूपमा ठप्प नभएको दाबी गरे।

यता निर्माण व्यवसायीहरूले भने हालको मूल्यवृद्धिका कारण काम गर्दा ठूलो घाटा व्यहोर्नुपर्ने अवस्था रहेको भन्दै समस्या समाधान नभएसम्म काममा फर्किन कठिन हुने बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ