arrow

प्रतिनिधि सभामा शहरी विकासमन्त्री

महान् सपूतहरूको योगदान राज्यले बिर्सिनुहुन्न: उपप्रधानमन्त्री सिंह

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार १० मंगलबार
prakashman-shing-11.jpg

काठमाडौं। उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपाली जनतालाई स्वतन्त्र र सार्वभौम बनाउने महान सपूतहरूको योगदान राज्यले बिर्सिन नहुने बताएका छन्। मंगलबारको प्रतिनिधि सभा बैठकमा विनियोजित शीर्षकमाथि सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री सिंहले यस्तो बताएका हुन्।

मन्त्री सिंहले देश र जनताका लागि जीवन अर्पण गरेका महामानवहरूप्रति कृतज्ञता अर्पण गर्न विगतदेखि नै राज्यले उनीहरूको नाममा विकास योजना र कार्यक्रम गर्दै आएको बताए। उनले राणाहरूको जहानियाँ शासनको सामन्ती पिँजडामा थुनिएका जनतालाई स्वतन्त्र र सार्वभौम नागरिक बनाउन संघर्ष गर्ने बीपी कोइराला, गणेशमान सिंह, पुष्पलाल श्रेष्ठ, मनमोहन अधिकारी, र मदनकुमार भण्डारी लगायतका सपूतहरूको योगदान अतुलनीय रहेको उल्लेख गरे।

यस्तै, मंगलादेवी सिंह, द्वारिकादेवी ठकुरानी, शैलजा आचार्य, साना प्रधान, र साधना प्रधान लगायतका महिलाहरूको संघर्ष र योगदान पनि अविस्मरणीय रहेको उनले जिकिर गरे। मन्त्री सिंहले राणा र शाहहरूको निरंकुश शासनकालमा यी सोनामधन्य महापुरुषहरूको नाम लिनु पनि अपराध ठहरिने गरेको स्मरण गर्दै, लोकतन्त्रको पुनस्र्थापनापछि मात्र राष्ट्रले उनीहरूको प्रेरणादायी नाम स्मरण गर्न पाएको बताए।

यस वर्ष पनि ती सोनामधन्य महामानवहरूप्रति कृतज्ञतास्वरूप केही योजनामा बजेट विनियोजन गरिएको स्पष्टीकरण मन्त्री सिंहले दिए। उनले नागरिक भएकोमा गर्व गर्ने, रैती हुन नचाहने कसैलाई पनि लोकतन्त्रका नायकहरूको नामप्रति द्वेष नहुने विश्वास व्यक्त गरे। "उहाँहरूको योगदानको ऋण त नेपाली जनताले तिर्न सक्दैनन्, तैपनि कृतज्ञता व्यक्त गर्न सक्छन्," उनले भने, "उहाँहरू अब व्यक्ति नभई राज्यको प्रतीकको रूपमा रहनुभएकोले उहाँहरूको सम्मान गर्नु राष्ट्रको दायित्व हो।"

मन्त्री सिंहले मन्त्रालयबाट कार्यक्रम प्रस्ताव गर्दा कार्यक्षेत्रसँग सम्बन्धित र स्थानीय तहहरूबाट माग भएका कार्यक्रमहरूलाई प्राथमिकतामा राखिएको बताए। आगामी आर्थिक वर्ष २०८२/८३ मा सहरी विकास मन्त्रालयको बजेट १ खर्ब १८ अर्ब ३४ करोड ४४ लाख रुपैयाँ बराबरको रहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ