संसद् भवन निर्माणमा ढिलाइ, कार्यतालिकाअनुसार काम नभएकोमा सरकार गम्भीर - कार्यवाहक प्रधानमन्त्री
हाम्रा कुरा
प्रकाशित २०८२ साउन २३ शुक्रबार
1.9k
Shares
काठमाडौँ। कार्यवाहक प्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले नयाँ संसद भवनको निर्माण कार्य समयमै सम्पन्न नभएकोमा सरकार गम्भीर रहेको बताएका छन्। शुक्रबार सिंहदरबारमा बसेको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन तथा मूल्याङ्कन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्।
उनले भने, "नयाँ संसद भवनको काम समयमै सकिएको छैन, यो हामी सबैलाई थाहा भएकै कुरा हो।" उनले विगतका कमीकमजोरीहरूबाट पाठ सिकेर कामको प्रगति बढाउन सरकारले विशेष ध्यान दिएको बताए।
कार्यवाहक प्रधानमन्त्री सिंहले संसद भवनको काम समयमै सक्नका लागि मन्त्रालयदेखि सम्बन्धित इन्जिनियर, महानिर्देशक र आयोजना प्रमुखलाई बोलाएर निर्देशन दिइसकेको जानकारी दिएका छन्। उनले कार्यतालिकाअनुसार प्रगति हुन नसकेको अवस्थालाई सुधार गर्न आवश्यक रहेकोमा जोड दिए। उनले समितिले औंल्याएका कमीकमजोरीलाई सुधार गर्न आफू प्रतिबद्ध रहेको पनि बताएका छन्।