मानव तस्करको गिरोहलाई तत्काल कारबाही गर्न राप्रपा प्रमुख सचेतक ओलीको माग [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ ४ सोमबार
257
Shares
काठमाडौँ । प्रतिपक्ष दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओलीले वैदेशिक रोजगारीका नाममा भइरहेको मानव तस्करीमा संलग्न गिरोहलाई तत्काल पक्राउ गरी कारबाही गर्न सरकारसँग माग गरेकी छन्। सोमबार बसेको प्रतिनिधि सभा बैठकमा आकस्मिक समय लिएर बोल्दै उनले यस्तो माग गरेकी हुन्।
प्रमुख सचेतक ओलीले कुवेत लगायतका खाडी मुलुकहरूमा नेपाली मानव तस्करहरूले १० देखि १२ लाख रुपैयाँसम्ममा नेपाली महिलाहरूलाई वैदेशिक रोजगारीको प्रलोभन देखाई बेच्ने गरेको गम्भीर जिकिर गरिन्। उनले कुवेतमा अलपत्र परेकी शर्मिला दर्जीको उदाहरण दिँदै सरकारको ध्यानाकर्षण गराइन्।
"शर्मिला दर्जीलाई कुवेतमा नेपाली राज्यले तुरुन्त खोजी गरोस्। म नेपाल सरकारलाई यस विषयमा ध्यानाकर्षण पनि गराउन चाहन्छु," संसद्मा बोल्दै उनले भनिन्, "यो एउटा प्रतिनिधि घटना मात्रै हो सभामुख महोदय, यस्ता अरू हजारौँ घटनाहरू छन्। यी सब घटनालाई केलाउन हामी सन् २०१७ मा जानुपर्ने हुन्छ। नेपाल सरकारले सन् २०१७ देखि नेपाली नागरिक विशेष गरी नेपाली महिलाहरूलाई घरेलु काममा विदेश जान प्रतिबन्ध लगाएको थियो। सरकारको तर्क थियो– शोषणबाट उनीहरूलाई सुरक्षा दिनु। के यो प्रतिबन्धले साँच्चै महिलाहरूलाई सुरक्षित बनायो त?"
उनले सरकारले खाडी मुलुकहरूमा घरेलु कामदार पठाउन प्रतिबन्ध लगाए पनि मानव तस्करहरूले विभिन्न वैकल्पिक बाटाहरू प्रयोग गरेर महिलाहरूलाई ती देश पुर्याइरहेको उल्लेख गरिन्। तस्करीका लागि कहिले भारतको बाटो हुँदै बोर्डर क्रस गराइने त कहिले तान्जानिया लगायतका अफ्रिकी मुलुकहरूलाई ट्रान्जिट बनाइने गरेको उनले बताइन्।
विदेशमा दुःख दिने र ठग्ने एजेन्टहरू नेपाली नै रहेको भन्दै उनले भनिन्, "एजेन्ट जतातिर पनि नेपाली नै छन्। त्यसैले यी मानव बेचबिखनमा संलग्न एजेन्टहरूको सञ्जाल ध्वस्त हुन जरुरी छ।" प्रमुख सचेतक ओलीले वैदेशिक रोजगारीका नाममा पीडा सहन बाध्य भएका र अलपत्र परेका नेपाली नागरिकहरूको उद्धार कार्यमा सरकारले अब थोरै पनि ढिलाइ गर्न नहुनेमा जोड दिइन्।