यस वर्षको मनसुनमा औसतभन्दा कम वर्षा हुने प्रक्षेपण, तापक्रम भने बढ्ने [भिडियो]
नेपालमा मनसुन भित्रिने सामान्य मिति जुन १३ तारिख भए पनि केही दिन तलमाथि हुन सक्ने
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख २५ शुक्रबार
568
Shares
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुन (जेठ–असोज) अवधिमा देशभर औसतभन्दा कम वर्षा हुने र तापक्रम भने औसतभन्दा बढी रहने प्रक्षेपण गरेको छ। दक्षिण एसियाली जलवायु पूर्वानुमान मञ्च (सास्कोफ) को सन् २०२६ को ऋतुगत आँकलनलाई आधार मान्दै विभागले यस्तो पूर्वानुमान सार्वजनिक गरेको हो।
मौसमविद् सुदर्शन हुमागाईंका अनुसार कर्णाली, बागमती र कोशी प्रदेशका उत्तरी भूभागबाहेक देशका अधिकांश क्षेत्रमा औसतभन्दा कम वर्षा हुने देखिएको छ। विशेष गरी लुम्बिनी प्रदेश, मधेश प्रदेशका पूर्वी भूभाग र कोशी प्रदेशका दक्षिणी क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ५५ देखि ६५ प्रतिशतसम्म रहेको छ। सुदूरपश्चिम र मधेशको पश्चिमी भूभागमा भने यो सम्भावना ४५ देखि ५५ प्रतिशत रहने अनुमान छ। नेपालको उत्तर-पश्चिमी क्षेत्रमा भने सरदर वर्षा हुने प्रक्षेपण गरिएको छ।
वर्षा कम हुने प्रक्षेपणसँगै यस वर्ष अधिकतम र न्यूनतम तापक्रम दुवै सरदरभन्दा बढी रहने देखिएको छ। सुदूरपश्चिम, कर्णाली, बागमतीका उत्तरी भाग र मधेश तथा कोशी प्रदेशका केही क्षेत्रमा न्यूनतम तापक्रम समेत बढ्ने सम्भावना छ। 'कोपरनिकस क्लाइमेट सेन्टर' को तथ्याङ्कले पनि दक्षिण एसियाली क्षेत्रमा यो वर्ष गर्मी बढ्ने देखाएको हुमागाईंले बताए।
सास्कोफको रिपोर्टले दक्षिण एसियामा चरम जलवायु घटनाहरू तीव्र बन्दै गएको उल्लेख गरेको छ। यसले गर्दा असामान्य वर्षा, लामो समयको खडेरी, भीषण गर्मी र बाढी-पहिरोजस्ता प्राकृतिक प्रकोपको जोखिम बढेको मौसमविद्हरूको भनाइ छ।
नेपालमा मनसुन भित्रिने सामान्य मिति जुन १३ तारिख भए पनि पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभावका कारण केही दिन तलमाथि हुन सक्ने विभागले जनाएको छ। कम वर्षाको प्रक्षेपणले कृषि क्षेत्र र जलविद्युत उत्पादनमा असर पर्न सक्ने देखिएकाले सतर्क रहन आवश्यक छ।