नेपालको अर्थतन्त्र ६६ खर्ब पुग्ने प्रक्षेपण, आर्थिक वृद्धि ३.८५ प्रतिशत रहने अनुमान [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख १५ मंगलबार
510
Shares
काठमाडौँ । राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालको अर्थतन्त्रको आकार ६६ खर्ब रुपैयाँ पुगेको प्रक्षेपण गरेको छ।
कार्यालयका प्रमुख तथ्याङ्क अधिकारी डा. कमलप्रसाद पोखरेलले त्रैमासिक राष्ट्रिय लेखा तथ्याङ्क सार्वजनिक गर्दै अर्थतन्त्रमा सुधारको संकेत देखिएको बताएका छन्।
उनका अनुसार गत आर्थिक वर्षको तुलनामा अर्थतन्त्र करिब चार खर्ब रुपैयाँले वृद्धि भएको छ।
गत वर्ष संशोधित अनुमान ६१.९९ खर्ब रुपैयाँ रहेकोमा यस वर्ष ६६ खर्ब रुपैयाँ पुग्ने अनुमान गरिएको छ। त्यस्तै, आर्थिक वृद्धिदर ३.८५ प्रतिशत रहने प्रक्षेपण गरिएको छ।
तथ्याङ्क सार्वजनिक गर्ने क्रममा डा. पोखरेलले नतिजालाई विश्वसनीय बनाउन अन्तर्राष्ट्रिय मापदण्ड अपनाइएको र नेपाल राष्ट्र बैंकको तथ्याङ्कसँग पनि धेरै हदसम्म मेल खाएको जानकारी दिए।
यसले तथ्याङ्कको विश्वसनीयता थप प्रष्ट पारेको उनको भनाइ छ।
उनका अनुसार हाल देशभर राष्ट्रिय आर्थिक गणना कार्यक्रम सञ्चालन भइरहेको छ।
हालसम्म करिब सवा तीन लाख प्रतिष्ठानहरूको गणना सम्पन्न भइसकेको छ भने यो कार्य आगामी असार ७ गतेसम्म जारी रहनेछ।
उनले सबै सरोकारवालालाई गणना कार्यमा सहयोग गर्न र प्रचारप्रसार गर्न आग्रह पनि गरे।
डा. पोखरेलले उपलब्ध तथ्याङ्कलाई विभिन्न क्षेत्रको अवस्था मूल्याङ्कन गर्न प्रयोग गर्न सकिएमा नीतिगत सुधारमा महत्वपूर्ण सहयोग पुग्ने बताए।
उनका अनुसार १८ ओटा क्षेत्रगत विवरण तयार गरिएको छ, जसले सम्बन्धित क्षेत्रको अवस्था र सुधारका आवश्यक पक्ष पहिचान गर्न मद्दत गर्नेछ।
आगामी बजेट निर्माणको पूर्वसन्ध्यामा सार्वजनिक गरिएको यो तथ्याङ्कले सरकारलाई नीति निर्माण तथा बजेट विनियोजनमा महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ।