सुकुमवासी बस्तीमा डोजर र मुकुम्लुङ केबलकारमा हर्कको टिप्पणी: 'अरूलाई खाने बाघले आफूलाई पनि खान्छ'
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख १४ सोमबार
596
Shares
काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ) ले सरकारको पछिल्लो कदमप्रति असन्तुष्टि जनाउँदै विकासका नाममा प्राकृतिक सम्पदा र स्थानीय बासिन्दामाथि विभेद भएको आरोप लगाएका छन्।
काठमाडौँका विभिन्न सुकुमवासी बस्तीमा महानगर र सरकारले डोजर चलाइरहेका बेला सामाजिक सञ्जालमार्फत टिप्पणी गर्दै उनले सरकारको दोहोरो मापदण्डमाथि प्रश्न उठाएका हुन्।
अध्यक्ष साम्पाङले सरकारले एकातिर गरिबका बस्ती भत्काइरहेको र अर्कोतिर व्यवसायीको स्वार्थका लागि प्राकृतिक सम्पदा मास्न सहयोग गरिरहेको टिप्पणी गरेका छन्। मुकुम्लुङ (पाथीभरा) क्षेत्रमा प्रस्तावित केबलकार परियोजनाको सन्दर्भ जोड्दै उनले लेखेका छन्:
‘सुकुमबासी बस्तीको पछि लागेको सरकारले मुकुम्लुङमा कञ्चनजङ्गा आरक्षण क्षेत्र नै मासेर गुराँसघारी उडाएर केबलकार थाप्न खोज्ने व्यापारीलाई चाहिँ माया गर्छ हो?’
सुकुमवासी बस्ती भत्काउँदा खुसी हुने र समर्थन गर्नेहरूलाई चेतावनी दिँदै साम्पाङले भोलि आफ्नै घरमा यस्तो अवस्था आउन सक्ने बताएका छन्। उनले 'अरूलाई खाने बाघले आफूलाई पनि खान्छ' भन्दै आज अरूको घर भत्किँदा ताली बजाउनेहरूकै घरमा भोलि डोजर पुग्न सक्ने सङ्केत गरेका छन्।
उनले थप लेखेका छन् ‘मलाई गाली गर्नेहरूकै घरमा कुनै दिन डोजर आइपुग्यो भने चाहिँ के भन्दा हुन् मलाई! अरूलाई खाने बाघले आफूलाई पनि खान्छ है!’
पछिल्ला दिनहरूमा सांसद राईले स्थानीय पहिचान र प्राकृतिक मुद्धाहरूमा सरकारको ध्यान केन्द्रित गर्नुपर्ने बताउँदै आएका छन्।