विद्यार्थी सङ्गठनमाथि प्रतिबन्धको विरोधमा कालो बेलुन उडाएर प्रदर्शन [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख ९ बुधबार
572
Shares
काठमाडौँ । सरकारले विद्यार्थी संगठनहरूमाथि प्रतिबन्ध लगाउने घोषणा गरेपछि त्यसको विरोधमा काठमाडौंमा कालो बेलुन उडाएर प्रदर्शन गरिएको छ। नेपाल विद्यार्थी संघ (नेविसंघ) र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले संयुक्त रूपमा राजधानीमा यो विरोध कार्यक्रम आयोजना गरेका हुन्।
विद्यार्थी नेताहरूले सरकारको यो कदमलाई अलोकतान्त्रिक र दमनकारी भन्दै कडा आलोचना गरेका छन्। नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य मात्रिका तिमिल्सिनाले मंगलवार शान्तिपूर्ण आन्दोलनमा उत्रिएका विद्यार्थीहरूलाई प्रहरीले हिरासतमा लिएको घटनाप्रति गम्भीर आपत्ति जनाए।
प्रदर्शनका क्रममा नेता तिमिल्सिनाले भने, "सरकारले विद्यार्थी संगठनहरूमाथि प्रतिबन्धको जुन घोषणा गरेको छ, त्यस्तो त पञ्चायत कालमा समेत भएको थिएन। हाम्रा साथीहरूलाई हिरासतमा राखिएको छ। यसका विरुद्ध नेविसंघ र अनेरास्ववियुले संयुक्त आन्दोलन सुरु गरेका छौँ।" उनले सरकारले यो निर्णय फिर्ता नलिए देशभर सशक्त आन्दोलन छेड्ने चेतावनी समेत दिए।
विद्यार्थी संगठनहरूले सरकारले माफियाहरूलाई संरक्षण गरेको र गृहमन्त्रीले स्वेच्छाचारी ढंगले शासन चलाइरहेको आरोप लगाएका छन्। सरकार नालायक र लाचार भएको भन्दै उनीहरूले सुशासन र लोकतान्त्रिक अधिकारका लागि आन्दोलनलाई थप उचाइमा पुर्याउने उद्घोष गरेका छन्।