arrow

हुम्लामा उडान कटौतीः राज्यको विभेदकारी नीतिप्रति जनआक्रोश, आन्दोलनको कडा चेतावनी

logo
जनकबहादुर शाही, 
प्रकाशित २०८३ वैशाख ८ मंगलबार
humla-flight-83-1-8.jpg

हुम्ला । विकटताका साथै राज्यको प्राथमिकताबाट सधैँ पछाडि पारिएको हुम्लामा जीवनरेखा मानिएको हवाई सेवा कटौती गरिँदा जनआक्रोश विस्फोटको स्थितिमा पुगेको छ। 

नेपाल वायुसेवा निगमले हप्तामा तीन दिन सञ्चालन हुँदै आएको उडानलाई घटाएर दुई दिनमा सीमित गरेपछि सर्वसाधारण, बिरामी, विद्यार्थी, कर्मचारीदेखि सुरक्षाकर्मीलाईसमेत असर परेको छ ।

नेपालगञ्जमा व्यवसाय गर्दै आएका हुम्लाबासीहरूले सोमबार छक्क लामाको नेतृत्वमा निगमको क्षेत्रीय कार्यालय र जिल्ला प्रशासन कार्यालय बाँकेमा ज्ञापनपत्र बुझाउँदै तत्काल उडान संख्या वृद्धि गर्न कडा चेतावनी दिएका छन् । 

उनीहरूले भनेका छन् - यो केवल सेवा कटौती होइन, राज्यद्वारा हुम्लामाथि गरिएको संस्थागत विभेद र उपेक्षाको ज्वलन्त उदाहरण हो ।

सडक सञ्जालको न्यूनतम पहुँचसमेत नभएको, कच्ची र जोखिमपूर्ण बाटोमा निर्भर हुम्लामा हवाई सेवा नै एकमात्र भरपर्दो आवागमनको माध्यम हो। यस्तो संवेदनशील अवस्थामा उडान कटौती गर्नु राज्यको नीति, नियत र प्राथमिकतामाथि गम्भीर प्रश्न खडा भएको वर्षौँदेखि होटल व्यवसाय गर्दै आएका रङ्गिर लामाले बताए  ।

निगमको क्षेत्रीय कार्यालय र जिल्ला प्रशासन कार्यालय बाँकेमा बुझाएको ज्ञापनपत्रमा बिरामीको उपचार, विद्यार्थीको भविष्य, कर्मचारीको सेवा प्रवाह तथा नेपाल आर्मी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल का सुरक्षाकर्मीको नियमित आवागमनसमेत अवरुद्ध भएको उल्लेख गरिएको छ।

अब नेपाल वायुसेवा निगमले हुम्लालाई हेर्ने दृष्टिकोण परिवर्तन गरी  हप्तामा कम्तीमा पाँच दिन नियमित उडान सञ्चालन तत्काल सुनिश्चित गर्नु पर्ने माग गर्दै ढिलासुस्ती गरिए सशक्त र चरणबद्ध आन्दोलनमा उत्रिने चेतावनी नेपालगंजमा बिभिन्न ब्यबसाय गर्दै आएका हुम्लाबासीहरूले दिएका छन्। 

दुर्गमलाई केवल भाषण र आश्वासनमा होइन, व्यवहारमा प्राथमिकता दिनुपर्छ,” भन्दै उनीहरूले अब राज्यको विभेदकारी दृष्टिकोणविरुद्ध संगठित प्रतिरोध अपरिहार्य भइसकेको सन्देश दिएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ