सांस्कृतिक सम्पदा सूचीकरणका लागि मन्त्रालयको आह्वान
चैत १५ सम्म आवेदन दिन सकिने
हाम्रा कुरा
प्रकाशित २०८२ पुष १९ शनिबार
733
Shares
काठमाडौँ । नेपालका मौलिक कला, संस्कृति र परम्परालाई सरकारी स्तरमा व्यवस्थित र संरक्षित गर्ने उद्देश्यले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अभौतिक सांस्कृतिक सम्पदा सूचीकरणका लागि सार्वजनिक सूचना जारी गरेको छ। मन्त्रालयले सम्बन्धित व्यक्ति, समुदाय वा संस्थालाई आगामी चैत १५ गतेभित्र आवश्यक प्रक्रिया पूरा गरी आवेदन दिन आह्वान गरेको हो। अभौतिक सांस्कृतिक सम्पदा भन्नाले पुर्खादेखि चलिआएका रीतिरिवाज, चाडपर्व, प्रदर्शनकारी कला, सीप र ज्ञानलाई बुझाउँछ जुन भौतिक रूपमा छुन सकिँदैन तर समुदायको पहिचानका रूपमा जीवित रहन्छन्।
सम्पदा सूचीकरणका लागि इच्छुक पक्षले मन्त्रालयको ‘वेबसाइट’मा उपलब्ध गराइएको अभौतिक सांस्कृतिक सम्पदा (सूचीकरण तथा व्यवस्थापन) सम्बन्धी आन्तरिक दिग्दर्शन र निर्धारित फारम बमोजिम आवेदन पेस गर्नुपर्नेछ। मन्त्रालयका पुरातत्व अधिकृत भीष्म बास्कोटाका अनुसार सूचीकरणका लागि सात प्रकारका मुख्य कागजात र प्रमाणहरू अनिवार्य गरिएको छ। जसमा कार्यविधिको अनुसूची १ बमोजिमको सम्पदाको पूर्ण विवरण, सूचीकरणका लागि सम्बन्धित समूह वा समुदायको लिखित सहमति, सम्पदाको स्पष्ट तस्बिरका साथै श्रव्य र दृश्य सामग्रीहरू समावेश हुनुपर्नेछ।
यसका साथै आवेदनमा सम्बन्धित सम्पदाको हालसम्मको पुस्तान्तरण प्रक्रिया, ऐतिहासिक पृष्ठभूमि, र सम्बन्धित स्थानीय तहको सिफारिस पत्र पनि संलग्न गर्नुपर्ने मन्त्रालयले जनाएको छ। यदि उक्त सम्पदा स्थानीय तहमा पहिले नै सूचीकृत भइसकेको भए सोको प्रमाण पनि पेश गर्नुपर्नेछ। मन्त्रालयले सांस्कृतिक पहिचानलाई ओझेलमा पर्न नदिन यस्तो कदम चालेको हो। यसअघि गत वर्ष मन्त्रालयले गरेको यस्तै आह्वानका आधारमा ललितपुरको प्रसिद्ध र मौलिक खाद्य परिकार 'योमरी' लाई अभौतिक सांस्कृतिक सम्पदाका रूपमा सफलतापूर्वक सूचीकृत गरिएको थियो।