बिदाई कार्यक्रममा मन्त्री सिन्हाको स्वीकारोक्ति- 'पोखरा र भैरहवा विमानस्थल चलाउन नसक्दा पीडा छ'
नेपालको हवाई क्षेत्रलाई युरोपियन युनियनको कालोसूचीबाट हटाउन महत्वपूर्ण सुधारका कामहरू थालिएको
हाम्रा कुरा
प्रकाशित २०८२ चैत १२ बिहिबार
999
Shares
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हाले आफ्नो कार्यकालमा पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण रूपमा सञ्चालनमा ल्याउन नसकेको स्वीकार गरेका छन्।
बिहीबार कानून मन्त्रालयमा आयोजित बिदाई कार्यक्रममा बोल्दै उनले ठूला पूर्वाधार बने पनि तिनलाई सञ्चालन गर्ने स्पष्ट कार्ययोजनाको अभावमा आफूले चाहेर पनि नतिजा निकाल्न नसकेको बताए।
उनले पर्यटन मन्त्रालय सम्हाल्दा निकै भद्रगोल अवस्थामा पाएको र पोखरा तथा भैरहवा जस्ता ठूला संरचना कसरी चलाउने भन्ने कार्यान्वयनयोग्य योजना नभेट्दा आफूलाई 'पीडा' बोकेर जानुपरिरहेको उल्लेख गरे। निर्वाचनका कारण ती विमानस्थल सञ्चालनका लागि बनाइएका कार्ययोजनाहरू ठोस रूपमा अघि बढाउन नसकिएको उनको भनाइ छ।
मन्त्री सिन्हाले नेपालको हवाई क्षेत्रलाई युरोपियन युनियनको कालोसूचीबाट हटाउन महत्वपूर्ण सुधारका कामहरू थालिएको जानकारी दिए। "नागरिक उड्डयन प्राधिकरण अहिले सही बाटोमा हिँड्न थालेको छ, युरोपियन युनियनका आवासीय राजदूतले पनि सुधारका प्रयासप्रति सकारात्मक प्रतिक्रिया दिएका छन्," उनले भने। हवाई सुरक्षा सुदृढ गर्न यसअघि विदेश जानुपर्ने हेलिकप्टर चालकहरूको तालिम अब काठमाडौँमै सञ्चालन हुन थाल्नुलाई उनले आफ्नो कार्यकालको ठूलो उपलब्धिका रूपमा चित्रण गरे।
आफूले पशुपति क्षेत्र विकास कोष र लुम्बिनी विकास कोष सुधारका लागि पनि कार्ययोजना तयार पारेको बताउँदै उनले आगामी सरकारलाई काम गर्न सहज वातावरण बनाइदिएको दाबी गरे। वर्तमान सरकारले ठूला भौतिक उपलब्धि हासिल नगरे पनि सुधारका लागि सकारात्मक जग बसालेको र आगामी सरकारले यसलाई निरन्तरता दिए हवाई सुरक्षा र पर्यटन क्षेत्रका समस्या छिट्टै समाधान हुने विश्वास उनले व्यक्त गरे।