हवाई सुरक्षालाई आधुनिकीकरण गर्नेबारे पर्यटन मन्त्रालयको विज्ञहरूसँग परामर्श
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख १८ शुक्रबार
216
Shares
काठमाडौँ । नेपालको हवाई सुरक्षालाई आधुनिक र प्रविधिमैत्री बनाउने उद्देश्यका साथ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पुल्चोक क्याम्पसको ‘मेकानिकल एन्ड एरोस्पेस इन्जिनियरिङ’ विभागसँगको सहकार्यमा एक विशेष कार्यशाला आयोजना गरेको छ।
कार्यशालामा हवाई सुरक्षाको अत्यन्तै महत्त्वपूर्ण पाटो मानिने ‘फ्लाइट डाटा मोनिटरिङ एन्ड एनालाइसिस’ (एफडीएम) का विषयमा विस्तृत छलफल भएको थियो। यस कार्यक्रममा उडानका क्रममा प्राप्त हुने प्राविधिक तथ्याङ्कहरूको गहिरो विश्लेषण गरी भविष्यमा हुनसक्ने सम्भावित हवाई दुर्घटना न्यूनीकरण गर्न र तथ्याङ्कमा आधारित सुरक्षा प्रणाली लागू गर्ने विषयमा विशेष जोड दिइएको छ।
पर्यटन मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाले उद्घाटन गरेको यस कार्यशालाले प्राज्ञिक ज्ञान र हवाई उद्योगबीचको सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास लिइएको छ।
कार्यशालाको प्राविधिक नेतृत्व पुल्चोक क्याम्पसका विभागीय प्रमुख डा. सुदीप भट्टराईले गर्नुभएको थियो भने हिमालय एयरलाइन्सले उडान जोखिम पहिचान र अन्तर्राष्ट्रिय मापदण्डका सफल अभ्यासहरू प्रस्तुत गरेको थियो। डा. भट्टराईले हवाई सुरक्षामा एफडीएमको महत्त्वका साथै यसको कार्यान्वयनमा देखिएका समस्या र समाधानका उपायहरूबारे आफ्नो प्रस्तुति दिनुभएको थियो।
कार्यक्रममा सहभागी विभिन्न वायुसेवा कम्पनीका प्रतिनिधिहरूले आ–आफ्नो संस्थामा हाल भइरहेको एफडीएम कार्यान्वयनको अवस्थाबारे जानकारी गराएका थिए। यो छलफलले नेपालको हवाई क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउन नियामक निकाय र सञ्चालकहरूका लागि एक स्पष्ट रणनीतिक मार्गचित्र तयार गर्न ठुलो सहयोग पुगेको मन्त्रालयको नागरिक उड्डयन महाशाखाले जनाएको छ।
नेपाली वायुसेवा कम्पनीका सुरक्षा कर्मचारी, नेपाल नागरिक उड्डयन प्राधिकरणका पदाधिकारी, पुल्चोक क्याम्पसका विद्यार्थी र मन्त्रालयका कर्मचारीहरूको सक्रिय सहभागिता रहेको यो कार्यशालाले हवाई सुरक्षाका चुनौतीहरूलाई प्रविधिको माध्यमबाट समाधान गर्ने नयाँ बाटो पहिल्याएको छ।
विशेष गरी उडानका तथ्याङ्कहरूको नियमित अनुगमन र विश्लेषणले हवाई क्षेत्रको सुरक्षा प्रणालीलाई थप विश्वसनीय र आधुनिक बनाउन मद्दत पुग्ने देखिएको छ। सरकारले आगामी दिनमा पनि यस्ता प्राविधिक र विज्ञ तहका छलफललाई निरन्तरता दिँदै मुलुकको आकाशलाई सुरक्षित बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।