जाँदाजाँदै मन्त्री सिन्हाले पीडा पोखे - पोखरा र भैरहवा विमानस्थल सञ्चालनमा ल्याउन सकिन [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ चैत १२ बिहिबार
625
Shares
काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री अनिलकुमार सिन्हाले पोखरा अन्तर्राष्ट्रिय र भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल प्रभावकारी रूपमा सञ्चालनमा ल्याउन आफू सफल नभएको स्वीकार गरेका छन्।
बिहीबार कानून मन्त्रालयमा आयोजित बिदाई कार्यक्रममा उनले पर्यटन मन्त्रालय अत्यन्त अव्यवस्थित अवस्थामा पाएको र ठूला पूर्वाधार भए पनि तिनलाई सञ्चालन गर्ने स्पष्ट कार्ययोजना नहुँदा चुनौती भएको बताए।
उनका अनुसार मन्त्री भएपछि पोखरा र भैरहवा विमानस्थल सञ्चालनको लागि कार्ययोजना तथा सुझाव तयार गरिएको भए पनि निर्वाचनका कारण ठोस रूपमा कार्यान्वयन गर्न नसकिएको छ।
“हामीले यति ठूला संरचना त्यहाँ बनाएका छौँ कि त्यसलाई कसरी चलाउने भन्ने निश्चित योजना मैले फेला पार्न सकेको थिइनँ,” उनले भने।
सिन्हाले युरोपियन युनियनको कालोसूचिमा रहेको नेपालको हवाई क्षेत्रलाई कालोसूचिबाट हटाउन सुधारको काम थालिएको र नागरिक उड्डयन प्राधिकरण सही मार्गमा अघि बढेको जानकारी दिए।
“युरोपियन युनियनका आवासीय राजदूतले पनि सकारात्मक जवाफ दिएका छन्, हेलिकोप्टर चालकका लागि आवश्यक तालिम काठमाडौमा सञ्चालन गरिएको छ, पहिले विदेश जानुपर्थ्यो, यो ठूलो उपलब्धि हो,” उनले भने।
उनले आगामी सरकारले निरन्तरता दिएको खण्डमा हवाई सुरक्षा र उड्डयन सुधार छिट्टै सम्भव हुने विश्वास व्यक्त गरे।
पशुपति क्षेत्र विकास कोष र लुम्बिनी विकास कोष को सुधारका लागि पनि कार्ययोजना तयार गरिएको उनले जानकारी दिए।
सिन्हाले भने, “हालको सरकारले धेरै उपलब्धि हासिल नगरे पनि सकारात्मक वातावरण बनाएको छ, आगामी सरकारले त्यसलाई निरन्तरता दिएमा नागरिक उड्डयन क्षेत्रमा आवश्यक सुधार छिट्टै देखिनेछ।”