काठमाडौँ । नेपाली कांग्रेसभित्र निर्वाचनको पराजयपछि संगठनलाई पुनर्जीवन दिन ‘जरा अभियान’ सुरु भएको छ। केही दिनअघि सभापति गगनकुमार थापाले शुभारम्भ गरेको यस अभियानबारे आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा महामन्त्री प्रदीप पौडेलले विस्तृत जानकारी दिए। उनले यो अभियान केवल औपचारिकता मात्र नभई कांग्रेसलाई आधुनिक युग सुहाउँदो ‘डिजिटल पार्टी’ बनाउने महाअभियान भएको बताए।
महामन्त्री पौडेलले अबको राजनीति परम्परागत जुलुस र आमसभामा मात्र सीमित नरहेको स्पष्ट पारे। उनले हालैका आन्दोलनहरूमा डिस्कोर्ड र सामाजिक सञ्जालको प्रयोगबाट मानिसहरू सडकमा ओर्लिएको उदाहरण दिँदै राजनीति पूर्णतः डिजिटलाइज भइसकेको उल्लेख गरे। यही यथार्थलाई आत्मसात् गर्दै कांग्रेसले आफ्ना प्रत्येक क्रियाशील सदस्यलाई प्रविधिसँग जोड्ने लक्ष्य राखेको छ। अब सदस्यहरूले आफ्नो फेसबुक, टिकटक, इन्स्टाग्राम र ट्विटर जस्ता सामाजिक सञ्जालको विवरण पार्टीलाई बुझाउनुपर्नेछ भने ह्वाट्सएपमार्फत केन्द्रका एजेण्डाहरू सिधै सदस्यको मोबाइलसम्म पुर्याइनेछ।
यस अभियानले संगठनको मेरुदण्ड मानिने वडा सभापतिहरूलाई संगठन विस्तारको पूर्ण जिम्मेवारी सुम्पेको छ। आगामी स्थानीय र प्रदेश निर्वाचनलाई मध्यनजर गर्दै वडाहरू सक्रिय हुनु अनिवार्य रहेको पौडेलले बताए। उनले जिम्मेवारी पाउँदा पनि जाँगर नचलाउने हो भने आगामी निर्वाचनमा नतिजा हात पार्न कठिन हुने चेतावनी समेत दिए। सदस्यता अद्यावधिक गर्ने कार्यलाई बैंकको ‘केवाईसी’ प्रक्रियासँग तुलना गर्दै उनले सदस्यहरूलाई सपथ गराएर थप प्रतिबद्ध बनाइने योजना सुनाए।
पुराना नेताहरूमा आफ्नो इतिहास मेटिने चिन्ता रहेकोप्रति टिप्पणी गर्दै पौडेलले डिजिटल प्रणालीले इतिहासलाई झन् सुरक्षित बनाउने दाबी गरे। "कसले कहिले सदस्यता लियो, कति जेल बस्यो र पार्टीमा के योगदान दियो भन्ने विवरण अब झोलामा होइन, फोटोसहित डिजिटल प्रणालीमा सुरक्षित रहनेछ," उनले भने। आन्तरिक कलह र विवादहरू समाधान भइसकेको उल्लेख गर्दै उनले अब आगामी असोज १६ देखि १९ सम्म तोकिएको १५औँ महाधिवेशनमा केन्द्रित हुन सबैलाई आग्रह गरे। विगतमा अनुशासन उल्लंघन गर्ने बाहेक अन्य सानातिना असहमति राख्ने सदस्यहरूलाई कारबाही नगरिने र सबैलाई समेटेर एउटै ढिक्का बनाइने उनको भनाइ छ।
महामन्त्री पौडेलले कांग्रेसभित्रको तीतो सत्य उजागर गर्दै धेरै क्षेत्रमा क्रियाशील सदस्य संख्याभन्दा थोरै भोट आउनुलाई ‘स्कुलिङको समस्या’ बताए। उनले ३६४ दिन कांग्रेस हुने तर भोट हाल्ने दिन अर्कै हुने प्रवृत्ति अन्त्य हुनुपर्नेमा जोड दिए। "प्रत्येक तीन घरमध्ये एउटा घर कांग्रेसको छ, तर हाम्रो सन्देश जनतासम्म पुगेन," उनले भने। सामाजिक सञ्जाल र प्रविधिको प्रयोग गरेर पार्टीको म्यासेज जनतासम्म पुर्याउन उनले नेता-कार्यकर्तालाई आग्रह गरे। वैशाख महिनाभित्र काठमाडौंमा सदस्यता अद्यावधिकको काम सकेमा त्यसले देशभर सकारात्मक सन्देश दिने उनले विश्वास व्यक्त गरे।