arrow

जनकपुरका सत्याग्रही धर्मेन्द्रकुमारले गरे आमरण अनशनको घोषणा

गुणस्तरीय शिक्षा र अर्थतन्त्रको लागत घटाउने विषयमा सरकारले चासो नदेखाएको आरोप

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख ६ आइतबार
dharmendra-karna.jpg

काठमाडौँ । जनकपुरधामका अभियन्ता तथा सत्याग्रही धर्मेन्द्रकुमार कर्णले गुणस्तरीय शिक्षा र अर्थतन्त्रको लागत घटाउने विषयमा सरकारले चासो नदेखाएको भन्दै आमरण अनशन बस्ने घोषणा गरेका छन्। उनले आफ्ना प्रस्तावहरूबारे प्रधानमन्त्री बालेन्द्र साह र मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवलाई जानकारी गराउँदा समेत कुनै सुनुवाइ नभएको दाबी गरेका छन्। कर्णले माध्यमिक शिक्षाको गुणस्तर सुनिश्चित गर्न र शिक्षण विधिको लागत घटाउने प्रस्तावमा चासो नदिनुको कारणबारे मुख्यमन्त्री यादवले सार्वजनिक रूपमा जवाफ दिनुपर्ने माग राखेका छन्।

सत्याग्रही कर्णले विभिन्न बुँदागत मागहरू अघि सार्दै संघीय सरकारको ध्यानाकर्षण गराएका छन्। उनले निजी क्षेत्रबाट लागत घटाउन गरिएको प्रयासमा उत्पन्न बाधाहरू तत्काल हटाउनुपर्ने माग गरेका छन्। 

साथै, नेपाल वान टेलिभिजनको सञ्चालनमा नीतिगत भ्रष्टाचार भएको आरोप लगाउँदै यसमा संलग्न प्रधानमन्त्री, सञ्चारमन्त्री लगायतका पदाधिकारीहरूमाथि छानबिन, कारबाही र क्षतिपूर्तिको माग समेत गरेका छन्। उनले जनप्रतिनिधिहरूले जनताका गुनासो र निवेदनउपर पहिलो प्रतिक्रिया ४८ घण्टाभित्र दिनुपर्ने कानुनी प्रावधान सुनिश्चित गर्न आग्रह गरेका छन्।

धार्मिक र आर्थिक क्षेत्रका विषयमा पनि उनले महत्त्वपूर्ण मागहरू उठाएका छन्। जानकी मन्दिर लगायतका मठमन्दिरहरूको जग्गा दर्ताका क्रममा रहेका कानुनी अड्चन फुकाउन र रोक्का आदेश तत्काल खारेज गर्न उनले सरकारसँग माग गरेका छन्। 

नगर क्षेत्रमा रहेका साना जग्गाका टुक्राहरूको वित्तीय तरलता अभिवृद्धि गर्न समकालीन व्यवस्थापनका लागि पहल गर्नुपर्ने उनको अडान छ। हाल जनकपुर-१० स्थित आफ्नै कार्यस्थलबाट आन्दोलनको तयारी सुरु गरेका कर्णले आफ्ना मागहरू छिटो सम्बोधन नभए अनशनका क्रममा हुने जुनसुकै अप्रिय घटनाको जिम्मेवार सरकार नै हुनुपर्ने चेतावनी दिएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ