जनकपुरधाम। त्रेता युगमा भगवान राम र माता सीताको विवाह भएको स्मरणमा प्रत्येक वर्ष मनाइने सप्ताहव्यापी विवाहपञ्चमी महोत्सव अन्तर्गत आज (आइतबार) तिलकोत्सव विधि सम्पन्न भएको छ।
राममन्दिरको प्राङ्गणमा आयोजित तिलकोत्सव कार्यक्रममा जानकी मन्दिरबाट 'भार' लिएर जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णव पुगेका थिए। परम्पराअनुसार प्रत्येक वर्ष विवाहपञ्चमी महोत्सव अन्तर्गत तिलकोत्सवमा जानकी मन्दिरका महन्थ र अयोध्या दरबारको प्रतिनिधित्व गर्ने जनकपुरधामस्थित राम मन्दिरका महन्थबीच अंकमाल गर्दै समधी मिलन गर्ने गरिन्छ।
यस वर्ष जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णव र राम मन्दिरका महन्थ राम गिरीले समधी मिलन गर्नुभएको छ, जहाँ दुवै पक्षबीच हास्य सपरिहास समेत भएको थियो। जानकी मन्दिरबाट फलफूल, मिष्ठान परिकार लगायतका सयौँ पाहुनाका साथ श्रद्धालुहरू राम मन्दिरको प्राङ्गणमा आएर तिलकोत्सव कार्यक्रममा सहभागी भएका थिए।
विवाहपञ्चमीको पाँचौ दिन सोमबार माता सीताको मटकोर विधि गंगासागर पोखरीमा हुनेछ। त्यसपछि मंगलबार विवाहपञ्चमीको मुख्य दिन जानकी मन्दिरमा वैवाहिक कार्यक्रम रहेको छ। बुधबार रामकलेवा गरेसँगै यस वर्षको विवाहपञ्चमी विधिवत रूपमा सम्पन्न हुनेछ।