जनकपुरधाम । जनकपुरधामका साधुसन्तहरूले वालेन्द्र साह बालेन नेतृत्वको नवगठित सरकारलाई जानकी नवमीको दिन राष्ट्रिय बिदा दिन आग्रह गरेका छन् ।
शुक्रबार जनकपुरधामस्थित तुलसी सदनमा पत्रकार सम्मेलन गर्दै जनकपुरधामका साधुसन्तहरुले नेपाल सरकारलाई वैशाख १२ गते राष्ट्रिय बिदा दिन आग्रह गरेका छन् ।
रामायणकालीन इतिहास बोकेको जनकपुरधामको भूमिमा जन्मेकी माता सीतालाई राष्ट्रिय विभूतिको संज्ञा दिँदै देशभरी सीता माताको जन्मजयन्ती मनाउनुपर्ने रामानन्दीय वैशणव समाजका अध्यक्ष एवं जानकी मन्दिरका छोटे महन्थ रामरोशन दासले बताए ।
उनले वालेद्र साह नेतृत्वको सरकारले हालसम्म उत्कृष्ट काम गर्दै आएकोले जनकपुरधामका साधुसन्त पनि प्रधानमन्त्री बालेनसंग आशावादी रहेको बताए ।
जानकी नवमीको दिन प्रदेश सरकाले बिदा दिँदै आए पनि प्रदेश सरकारको क्यालेन्डरमा भने बिदा अङ्कित नहुनु दुःखद् रहेको महन्थ दासले बताए ।
उनले विश्वमा राम सीताको पूजा हुने गरे पनि आफ्नै देशमा माता सीता उपेक्षित हुनु दु:खद् रहेको बताए ।
प्रत्येक वर्ष झैँ यस वर्ष पनि जनकपुरधामको जानकी मन्दिरसहित अन्य सम्पूर्ण मठ मन्दिरहरूमा जानकी नवमी धूमधामका साथ मनाइने महन्थ दासले जानकारी दिए ।
उनले यो दिन जानकी मन्दिरमा विशेष पूजा पाठका साथै द्वीप प्रज्वलनलगायत विभिन्न धार्मिक कार्यक्रमहरू हुने बताए ।