सर्लाही । रौतहटको चन्द्रपुर नगरपालिका-४ दोस्रो लाच्कास्थित पूर्व-पश्चिम महेन्द्र राजमार्गमा मादक पदार्थ सेवन (मापसे) गरेका चालकले चलाएको ट्रकले दुईटा यात्रुवाहक बसलाई ठक्कर दिँदा आठ जना घाइते भएका छन्।
प्रहरीका अनुसार जनकपुरबाट गरुडातर्फ जाँदै गरेको म.प्र.०२-००१ क ०८६७ नम्बरको ट्रकले काठमाडौँबाट धरानतर्फ गइरहेका बा.प्र.०३-००१ ख ५२८४ र बा.प्र.०३-००१ ख ३६६० नम्बरका यात्रुवाहक बसलाई ठक्कर दिएको हो। ठक्करको प्रभावले एउटा बस सडकमा पल्टिएको थियो।
दुर्घटनामा ट्रकका सहचालक धनुषाधाम नगरपालिका-९ का करिब ६० वर्षीय लालबहादुर तामाङ, बस चालक हेटौंडा उपमहानगरपालिका-४ का ४३ वर्षीय विकास पौडेल र सुनसरीका ४५ वर्षीय प्रदीप खड्का घाइते भएका छन्।
यस्तै, इनरुवा नगरपालिका-२ की ५७ वर्षीया निर्मला देवी गुप्ता, मोरङको सुन्दरहरैँचा-५ की ४६ वर्षीया रितु वर्ण कार्की, ४४ वर्षीय मेघराज कार्की, इटहरी उपमहानगरपालिका-का ३२ वर्षीय सफल मगर तथा सुन्दरहरैँचा-५ की ५४ वर्षीया दिलमाया कार्की पनि घाइते भएका छन्।
घाइतेमध्ये अधिकांशको विराटनगरस्थित नोबेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। प्रारम्भिक उपचारका लागि चपुरस्थित सिमन्त हाईवे अस्पताल लगिएका सफल मगर भने उपचारकै क्रममा अस्पतालबाटै हिँडेको प्रहरीले जनाएको छ।
प्रहरीको प्रारम्भिक अनुसन्धानबाट ट्रक चालक महोत्तरीको बर्दिबास नगरपालिका निवासी करिब ३५ वर्षीय लालबहादुर मगरले मादक पदार्थ सेवन गरेर सवारी चलाएको पुष्टि भएको छ। उनलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको जनाएको छ।