असार सकिन लाग्दा पनि अधिकांश खेत बाँझै, धान रोपाइँ प्रभावित
हाम्रा कुरा
प्रकाशित २०८३ असार २७ शनिबार
248
Shares
रौतहट। पर्याप्त वर्षा नहुँदा रौतहटमा यस वर्ष धान रोपाइँ प्रभावित भएको छ। असार २७ गतेसम्म आइपुग्दा पनि अधिकांश खेत सुक्खा रहेकाले किसान आकाशे पानीको प्रतीक्षामा छन्।
चन्द्रपुर नगरपालिका-२ सखुवानीका किसान खुशबहादुर बम्जनले रोपाइँका लागि खेत तयार भए पनि सिँचाइको सुविधा नहुँदा धान रोप्न नसकेको बताए। गत वर्षजस्तै यस वर्ष पनि पानी नपर्दा खेती अन्योलमा परेको उनको भनाइ छ।
सोही गाउँका कुलदीप चौधरीले पर्याप्त वर्षा नहुँदा बीउब्याड नै सुक्न थालेको र रोपाइँ कहिले गर्ने भन्ने अन्योल रहेको बताए। वैकल्पिक सिँचाइको व्यवस्था नहुँदा खेत फेरि बाँझै रहने चिन्तामा किसान रहेको उनले सुनाए।
किरण बम्जन, बाबुराम घिसिङ, उमेश चौधरीलगायत सयौँ किसान पनि समयमै वर्षा नहुँदा धान खेती प्रभावित हुने चिन्तामा छन्।
जिल्ला कृषि ज्ञान केन्द्रका प्रमुख सुरेन्द्र कुर्मीका अनुसार रौतहटमा करिब ३८ हजार ५०० हेक्टर क्षेत्रफल धान खेतीका लागि उपयुक्त भए पनि हालसम्म छ हजार १६० हेक्टर क्षेत्रमा मात्रै रोपाइँ भएको छ।
यस अवधिसम्म करिब ४५ देखि ५० प्रतिशत रोपाइँ हुनुपर्ने भए पनि हाल करिब १६ प्रतिशत मात्रै रोपाइँ सम्पन्न भएको उनले जानकारी दिए।
उनका अनुसार बागमती सिँचाइ आयोजनाबाट करिब १३ हजार हेक्टर र झाँझ सिँचाइ आयोजनाबाट चार हजार ५०० हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको छ। यद्यपि जिल्लाको ठूलो भूभाग अझै आकाशे पानीमै निर्भर छ।
कृषि ज्ञान केन्द्रका अनुसार स्यालो ट्युबवेलबाट करिब २० प्रतिशत खेतीयोग्य जमिनमा मात्रै सिँचाइ हुने गरेको छ, जसको प्रयोग मुख्यतः तरकारी खेतीमा हुने गरेको छ।
नारायणी सिँचाइ व्यवस्थापन कार्यालयअन्तर्गतको गण्डक नहरमा पानी सञ्चालन गर्न सके बौधीमाई, राजपुर, परोहा नगरपालिका तथा दुर्गाभगवती गाउँपालिकाका हजारौँ हेक्टर खेतमा सिँचाइ सुविधा पुग्ने भए पनि लामो समयदेखि नहरमा पानी नआएको कृषि ज्ञान केन्द्रले जनाएको छ।
रौतहटमा कुल ५२ हजार २०० हेक्टर खेतीयोग्य जमिनमध्ये करिब ३८ हजार ५०० हेक्टर क्षेत्रमा धान खेती हुँदै आएको छ।
मनसुन सक्रिय भई निरन्तर वर्षा भए आगामी केही दिनभित्र रोपाइँले गति लिने अपेक्षा गरिएको छ। रासस