राम कलेवा विधि सम्पन्न, जानकी मन्दिरबाट जन्तीको हास्यपूर्ण बिदाइ [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर १० बुधबार
748
Shares
जनकपुर। जानकी मन्दिरमा विवाहपञ्चमी महोत्सव अन्तर्गत राम कलेवा विधि सम्पन्न भएपछि यस वर्षको विवाहपञ्चमी महोत्सव सम्पन्न भएको छ।
विवाहपछि मिथिलाञ्चलमा बेहुलालाई विभिन्न परिकार खुवाउने परम्परा अनुसार, रामकलेवाका लागि रामसहित चारै भाइको प्रतीकको रूपमा रहेका बालकहरूले जानकी मन्दिरको प्राङ्गणमा बनाइएको मडवामा बसेर भोजन ग्रहण गरेका थिए। राति विवाह भएकै मडवामा बसाएर चारै भाइलाई भोजन ग्रहण गराइएको थियो।
रामकलेवा विधि चलिरहेकै समयमा मिथिलानी नारीहरूले गीतकै माध्यमले राम, भरत, लक्ष्मण, शत्रुध्न तथा अयोध्यावासीलाई गीतकै माध्यमले जिस्काएका थिए। जन्ती तथा राजा दशरथलाई समेत गीत गाउने महिलाहरूले मैथिली परम्परा अनुसार लोकगीत 'डहकन' गाएर गाली गरेका थिए। सो हास्यपरिहासको माहौलले जानकी मन्दिरको वातावरणलाई अदभूत बनाएको थियो। चारै भाइका साथै अयोध्याबाट आएका जन्तीहरूलाई आदरका साथ भोजन ग्रहण गराइएपछि रामकलेवामा सहभागी जन्तीहरूलाई कपडा, प्रसाद आदि दिएर बिदाइ गरिएको छ।