संघीयताको मर्म पालना होस् र विकास रोक्ने कानून बदलियोस् : हर्कराज राई
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख ६ आइतबार
685
Shares
काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले संघीयतासँग सम्बन्धित सबै विषयमा प्रधानमन्त्रीलाई सोध्नुपर्ने हालको अवस्था अन्त्य हुनुपर्ने बताएका छन्। आइतबार ललितपुरमा आयोजित पार्टीको एक कार्यक्रममा बोल्दै उनले संघीयताको वास्तविक मर्मअनुसार काम नभएको भन्दै यस्तो स्थितिको अन्त्य हुनुपर्नेमा जोड दिए।
उनले मुलुकमा विकास र निर्माणका कामलाई गति दिनका लागि वर्तमान कानूनमा तत्काल ठूलो परिवर्तन ल्याउन सरकारसँग आग्रह गरे। विकास निर्माणका कार्य अघि बढाउन कानूनी अड्चन बाधक रहेको उल्लेख गर्दै उनले भौतिक पूर्वाधार मन्त्रालयले गर्न खोजेको काममा वन मन्त्रालयले रोक्ने जस्ता विरोधाभासपूर्ण अवस्था सुधार गर्न सरकारले ढिलाइ गर्न नहुने स्पष्ट पारे।
आफूहरू संस्कृतिवादी भएको चर्चा गर्दै अध्यक्ष राईले सबै संस्कृतिको सम्मान गरिनुपर्ने र कुनै पनि अल्पसंख्यकको संस्कृतिलाई पेल्ने वा मास्ने काम गर्न नहुने बताए। उनले हिजो मात्रै कानूनमन्त्रीसँग भेट गरेको स्मरण गर्दै अहिलेको झन्झटिलो कानूनी प्रक्रियाले काम गर्न कठिन भएको तर्क गरे।
बाटो बनाउन खोज्दा वा खानेपानीको ट्याङ्की निर्माण गर्दा वन मन्त्रालयले आएर रोक्ने प्रवृत्तिको उदाहरण दिँदै उनले यस्तो विरोधाभासले देशको विकास ठप्प पारेको गुनासो गरे। साथै, उनले सरकारले श्रमदान गर्ने नागरिकहरूलाई आवश्यक स्रोत र साधनको उचित व्यवस्था गरिदिनुपर्ने माग समेत गरे।