arrow

डिजिटल रूपान्तरणमा कांग्रेस, सदस्यता प्रणाली पूर्णरूपमा अनलाइन बनाइने [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख २ बुधबार
pradip-poudel-02-01.jpg

काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीलाई आधुनिक र प्रविधिमैत्री बनाउन सदस्यता प्रणालीलाई पूर्ण रूपमा डिजिटलाइज गर्न लागिएको बताएका छन्।

बुधबार पार्टी केन्द्रीय कार्यालयमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले सदस्यहरूको क्षमता पहिचान गर्ने र उनीहरूलाई उपयुक्त जिम्मेवारी दिने उद्देश्यसहित डिजिटल नवीकरण प्रक्रिया अघि बढाइएको बताएका छन्।

उनका अनुसार अब कुनै पनि व्यक्ति कहिलेदेखि कांग्रेसको सदस्य भयो, उसको क्षमता के हो र कुन जिम्मेवारीमा उसले राम्रो काम गर्न सक्छ भन्ने विवरण पार्टीले प्रविधिमार्फत व्यवस्थित रूपमा राख्नेछ।

महामन्त्री पौडेलले सदस्यता अद्यावधिक गर्ने क्रममा पुराना सदस्यहरूको अभिलेख हटाइँदैछ भन्ने हल्ला असत्य रहेको स्पष्ट पारेका छन्।

बरु पुराना अभिलेखलाई सुरक्षित, व्यवस्थित र दीर्घकालीन रूपमा संरक्षण गर्ने उद्देश्यले डिजिटल प्रणाली लागू गर्न लागिएको उनको भनाइ छ।

उनले भनेका छन्, “आजको डिजिटल युगमा कांग्रेसका सदस्यलाई पार्टीसँग डिजिटल रूपमा जोड्ने प्रयास गरिएको हो। सदस्यहरूको फोन नम्बर र अन्य विवरण उपलब्ध हुँदा सदस्य-सदस्यबीच, विभिन्न तह र पार्टीबीच समन्वय सहज हुन्छ।”

उनका अनुसार अब सदस्यतासम्बन्धी सम्पूर्ण विवरण डिजिटल प्रणालीमा सुरक्षित रहनेछ र कसैले पनि त्यसलाई मेट्न नसक्ने गरी संरक्षित गरिनेछ।

पार्टीभित्रको एकता र अनुशासनबारे बोल्दै प्रदीप पौडेलले निर्वाचनपछि जनमतका आधारमा पार्टी केही कमजोर देखिएको उल्लेख गर्दै अहिले झन् बढी एकताको आवश्यकता रहेको बताएका छन्।

उनले नेतृत्व तहलाई सबैलाई समेटेर अघि बढ्न आग्रह गर्दै एकता कायम गर्न नसकिए पार्टी थप संकटमा पर्न सक्ने चेतावनी दिए।

महामन्त्री पौडेलले आगामी अधिवेशनलाई व्यवस्थित, विधिसम्मत र पूर्वाग्रहरहित बनाउन वर्तमान नेतृत्व तयारी समितिका रूपमा सक्रिय रहेको जानकारी दिए।

अधिवेशन सफल बनाउन, सदस्यता अद्यावधिक गर्न र पार्टी क्यालेण्डर कार्यान्वयन गर्न सम्पूर्ण नेता-कार्यकर्तालाई सहयोग गर्न उनले अपिल गरे।

साथै अग्रज नेताहरूलाई अभिभावकका रूपमा सम्मान गर्दै उनीहरूको अनुभवलाई संगठन सुदृढीकरणमा उपयोग गरिने प्रतिबद्धता व्यक्त गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ