arrow

पाँच स्थानीय तहमा खटाइयो नयाँ प्रमुख प्रशासकीय अधिकृत

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत २० शुक्रबार
sanghiya-mamila-sthaniya-local-development-.jpeg

बाजुरा । हिमाली जिल्ला बाजुराका पाँच स्थानीय तहमा नयाँ प्रमुख प्रशासकीय अधिकृत खटाएको छ । यहाँका नौ स्थानीय तहमध्ये पाँच स्थानीय तहमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नयाँ प्रमुख प्रशासकीय अधिकृत पठाएको हो ।

संघीय सरकारबाट नै उपसचिव तहको प्रमुख प्रशासकीय अधिकृत पठाउने नीति अनुरुप यहाँका पाँच स्थानीय तहमा उनीहरुलाई पठाइएको हो ।

नयाँ सरकार बनेसँगै रिक्त रहेका तीन गाउँपालिका र दुई नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत खटाइएको हो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको चैत १६ गतेको निर्णयअनुसार बुढीगंगा नगरपालिकामा उपसचिव भोजबहादुर ऐडी र बूढीनन्दा नगरपालिकामा विनोदकुमार पौडेललाई कामकाजका रुपमा खटाएको छ ।

साथै मन्त्रालयको चैत्र १९ गते बिहीबारको निर्णय बमोजिम जिल्लाका तीन ओटा गाउँपालिका पनि प्रमुख प्रशासकीय अधिकृतका रुपमा शाखा अधिकृतलाई खटाएको हो।

त्रिवेणी नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रुपमा कार्यरत टेकबहादुर मौनीलाई मन्त्रालयले खप्तड छेडेदह गाउँपालिकामा कामकाजका रुपमा खटाएको छ ।

यस्तै जगन्नाथ गाउँपालिकामा हेमन्त चुनारा र स्वामीकार्तिक खापर गाउँपालिकामा रमेशसिंह भण्डारीलाई प्रमुख प्रशासकीय अधिकृतमा खटाएको हो ।

मन्त्रालयले नयाँ प्रमुख प्रशासकीय अधिकृत खटाएका स्थानीय तहहरु मध्ये अधिकांश पालिकाहरु निमित्तका भरमा चल्दै आएका थिए ।

बाजुराका अझै केही पालिका भने निमित्तकै भरमा चलिरहेका छन् । बडीमालिका नगरपालिका र हिमाली गाउँपालिकामा दरबन्दी अनुसारकै प्रमुख प्रशासकीय अधिकृत कार्यरत छन् ।

यस्तै गौमुल गाउँपालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृत र त्रिवेणी नगरपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृतलाई खप्तड छेडेदहमा खटाएसँगै सो नगरपालिका पनि प्रमुख प्रशासकीय अधिकृत विहीन बनेको हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ