देशभरका सबै स्थानीय तहमा खटाइयो पूर्णकालीन प्रमुख प्रशासकीय अधिकृत
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ १३ शुक्रबार
605
Shares
काठमाडौं। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेको निर्णयअनुसार, देशभरका सबै नगरपालिका तथा गाउँपालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृतको संख्या शून्य पारिएको छ। यसअघि १०५ नगरपालिका र ८६ गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा सञ्चालन भइरहेका थिए।
मन्त्री न्यौपानेले अब सम्पूर्ण स्थानीय तहहरूमा दरबन्दीअनुसारका प्रमुख प्रशासकीय अधिकृत (प्रप्रअ) खटाइएको र यसले पूर्ण जिम्मेवारीसहितको प्रशासनिक नेतृत्व सुनिश्चित भएको बताएकी छन्।
निजामती सेवा ऐन, २०४९ अनुसार अवकाशको चरणमा रहेका कर्मचारीबाहेक, मन्त्रालयले पारदर्शिता र कार्यकुशलताका आधारमा प्रप्रअ खटाएको हो। यस क्रममा, दुई वर्षभन्दा बढी समय मन्त्रालय वा उपत्यकाकेन्द्रित कार्यालयमा काम गरेका, स्थानीय तहमा अनुभव नभएका वा फाजिल समूहमा रहेका कर्मचारीलाई प्राथमिकता दिइएको छ।
यो निर्णयले इतिहासमै पहिलोपटक स्थानीय तहमा निमित्त प्रप्रअलाई शून्यमा झार्नुका साथै बाह्य राजनीतिक दबाब र मनपरी सरुवाको प्रभाव अन्त्य हुने अपेक्षा गरिएको छ। मन्त्री न्यौपानेले सुशासनको मुख्य आधार कर्मचारी प्रशासन भएको र यसलाई निरन्तर सुधार गर्ने आफ्नो प्रतिबद्धता रहेको बताइन्।
मन्त्रालयका अनुसार, अब निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई दिइएको आर्थिक वा प्रशासनिक जिम्मेवारी स्वतः खारेज भएको छ। यसबाट कर्मचारी सरुवामा हुने चलखेलको अन्त्य, चक्रीय सरुवा प्रणालीको कार्यान्वयनमा सहजता, दुर्गममा समेत सेवाको पहुँच विस्तार र सेवा प्रवाहको गुणस्तरमा वृद्धि हुने अपेक्षा गरिएको छ।
मन्त्रालयले सहसचिव प्रमुख प्रशासकीय अधिकृत हुने नौवटा उपमहानगरपालिका र एउटा महानगरपालिकामा पनि छिट्टै दरबन्दीअनुसारका प्रप्रअ खटाउने तयारी गरिरहेको छ। मन्त्री न्यौपानेको यो निर्णयलाई सङ्घीयता कार्यान्वयन, स्थानीय तहको सबलीकरण र सुशासन प्रवर्द्धनका लागि कोसेढुङ्गा मानिएको छ।