लामो समयदेखि कार्यालय अनुपस्थित नार्कका दुई कर्मचारी बर्खास्त
हाम्रा कुरा
प्रकाशित २०८३ असार २१ आइतबार
296
Shares
काठमाडौँ । कृषि, वन तथा पर्यावरण मातहतको नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) मा लामो समयदेखि कार्यालय अनुपस्थित रहेका दुई महिला कर्मचारीलाई सेवाबाट बर्खास्त गरिएको छ। नार्कका अध्यक्षसमेत रहेकी कृषि मन्त्री गीता चौधरीले दरबन्दी मात्र ओगटेर बस्ने तर सम्बन्धित कार्यालयमा आफ्नो जिम्मेवारी पूरा नगर्ने ती कर्मचारीहरूलाई पदबाट हटाएकी हुन्।
सरकारले सुशासन र जनमुखी सेवा प्रवाहलाई मुख्य प्राथमिकतामा राखेको स्पष्ट पार्दै मन्त्री चौधरीले काममा लापरबाही गर्ने कर्मचारीहरूलाई कारबाही गरिएको बताइन्।
नार्कको सेवाबाट हटाइएका कर्मचारीहरूमा कृषि अनुसन्धान निर्देशनालय, तरहरा (सुनसरी) मा कार्यरत प्राविधिक अधिकृत (छैटौँ) पार्वती जोशी र राष्ट्रिय जैविक प्रविधि अनुसन्धान केन्द्र, खुमलटार (ललितपुर) मा कार्यरत वैज्ञानिक (एस–१) नमिता भट्टराई छन्।
उनीहरूलाई कर्मचारी प्रशासन विनियमावली, २०६२ को विनियम बमोजिम अनुपस्थित रहेको मितिदेखि नै लागू हुने गरी सेवाबाट हटाइएको मन्त्री चौधरीको सचिवालयले जनाएको छ। बर्खास्त गर्नुअघि परिषद्ले ती कर्मचारीहरूको घर ठेगानामा पत्राचार गर्नुका साथै राष्ट्रिय दैनिक पत्रिकामा सूचना प्रकाशित गरी ७ दिनभित्र सम्पर्कमा आउन आग्रह गरेको थियो। तर तोकिएको अवधिमा पनि उनीहरू सम्पर्कमा नआएपछि परिषद्को कार्यकारी समितिको निर्णयअनुसार सेवाबाट निष्कासन गरिएको हो।